गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

माउन्ट एभरेस्ट ब्रुअरीलाइ श्रम अदालतको फैसला कार्यान्वयन तत्काल कार्यान्वयन गर्न आदेश

चितवनको भरतपुरस्थित माउन्ट एभरेस्ट ब्रुअरीमा कार्यरत श्रमिकहरूले पारिश्रमिक तथा सेवा–सुविधा नपाएको विषयमा करिब दुई वर्षअघि श्रम तथा रोजगार कार्यालय, हेटौंडाले श्रमिकहरूको पक्षमा गरेको निर्णय कम्पनी व्यवस्थापनले कार्यान्वयन नगरी आलटाल गरेपछि श्रम कार्यालयले व्यवस्थापनको बैंक खाता रोक्का गर्ने निर्णय गरेको थियो।

श्रम तथा रोजगार कार्यालय, हेटौंडाको निर्णय विरुद्ध कम्पनी व्यवस्थापनले श्रम अदालतमा मुद्धा दायर गरे पनि श्रम अदालतले श्रम तथा रोजगार कार्यालय, हेटौंडाको निर्णयलाई सदर गरी व्यवस्थापनको चल–अचल सम्पत्ति रोक्का गर्ने आदेश जारी गरेको थियो । 

ब्यस्थापकले अदालतको आदेशलाइ समेत अवज्ञा गरी श्रमिकहरूले पाउनुपर्ने पारिश्रमिक तथा सेवा–सुविधा बापत करिव ४ करोड बराबरको रकम प्राप्त गर्न नसकेपछि जिफन्टको समन्वयमा समग्र उद्योग ट्रेड युनियनका २२ जना श्रमिकले फैसला कार्यान्वयनको माग गर्दै श्रम अदालतमा पुनः दर्ता गरेको निवेदन उपर श्रम अदालतले श्रम ऐन बमोजिम अदालतको फैसला कार्यान्वयन नगरेको ठहर गर्दै कम्पनीलाई रु. २५ हजार जरिवाना र अघिल्लो फैसला तत्काल कार्यान्वयन गर्न गत साउन १५ गते आदेश दिएको छ।

अनौपचारिक श्रमिकहरुको न्यायिक रुपान्तरण बारे सामाजिक संवाद

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (नेपाल आवध्द परिषद) आइटियुसि न्याकले अनौपचारिक श्रमिकहरुको न्यायिक रुपान्तरण शीर्षकमा साउन २० गते सामाजिक सम्वाद कार्यक्रम आयोजना गरेको छ। 

कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) तथा आईटीयुसी–न्याकका अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकको हक, अधिकार र सामाजिक सुरक्षाको सुनिश्चितताकालागि श्रम पक्षीय सामाजिक संवाद अपरिहार्य रहेको बताउनुभयो। 

अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का मापदण्ड अनुसार सरकार, रोजगारदाता र श्रमिकबीचको त्रिपक्षीय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै सामाजिक संवादले श्रमिकमैत्री नीति निर्माण, श्रम सम्बन्ध सुदृढीकरण तथा न्यायपूर्ण रूपान्तरणलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो। 

न्यायपूर्ण रूपान्तरणलाई व्यवहारमा कार्यान्वयन गर्न राज्यका नीति, कानुन र कार्यान्वयन प्रक्रियामा समयानुकूल सुधार आवश्यक रहेको उल्लेख गर्दै सरकार, रोजगारदाता र श्रमिकबीच निरन्तर सहकार्य हुनुपर्ने धारणा राख्नु हुंदै अध्यक्ष श्रेष्ठले महिला र युवाकेन्द्रित कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

जिफन्ट उपाध्यक्ष तथा आईटीयुसी–न्याकका सल्लाहकार विदुर कार्कीले सञ्चालन गर्नु भएको कार्यक्रममा आइएलओ नेपालका प्रतिनिधि सोलोमन राजबंशीले "न्यायपूर्ण रूपान्तरण र अनौपचारिक क्षेत्रका श्रमिकका चुनौतीहरूबारे " कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवर, अण्टुफका वरिष्ठ उपाध्यक्ष धन बहादुर वि.क, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौला, ट्रेकिङ व्यवसायी संघका अध्यक्ष सागर पाण्डे, होटल व्यवसायी महासंघ बागमतीका महासचिव माधव दुवाडी, नेपाल निर्माण व्यवसायी महासंघका कार्यकारी अधिकृत राजेश गौतम लगायतका सहभागिहरूले न्यायपूर्ण रूपान्तरणको प्रक्रियामा अनौपचारिक क्षेत्रका श्रमिकको आवाजलाई नीति निर्माण र कार्यान्वयनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

 

प्रस्तावित सवारी तथा यातायात ऐनबारे जिफन्टको चासो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) केन्द्रीय श्रम सम्बन्ध परिषद्ले सरकारले जारी गर्न तयारी गरिरहेको प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ मा यातायात श्रमिकका हक–हित, सामाजिक सुरक्षा तथा श्रम अधिकार सुनिश्चित हुने आवश्यक संशोधनका विषयमा साउन १९ गते छलफल गरेको छ ।

जिफन्टको सभाहलमा आयोजित छलफल कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले पूर्वाधार तथा विकास मन्त्रालयमा पेश गरिएको तीन महले संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुतीकरणका क्रममा अध्यक्ष राईले प्रस्तावित ऐनका केही प्रावधानहरूले चालक, सहचालक तथा यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूको श्रम अधिकार, रोजगारीको सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने भएकाले समयमै संशोधन आवश्यक रहेको बताउनु भयो ।

आफुहरुले संगठनको तर्फबाट ऐनका विविध श्रमिक विरोधी दफाहरुलाई संशोधन गर्नका लागि मन्त्रालयमा गत जेठ १५ गते, असार ३१ गते र देशभरीको सबै जिल्ला प्रशासन कार्यालय मार्फत साउन ४ र ५ गते सरकारको ध्यानाकर्षण गराई सकिएको राईले धारणा राख्नुभयो । श्रमिकमैत्री, न्यायपूर्ण र व्यवहारिक कानुनी व्यवस्था निर्माण गर्न सरकार, रोजगारदाता र श्रमिक संगठनबीच सार्थक संवाद आवश्यक रहेको पनि अध्यक्ष राईले बताउनुभयो ।

छलफलमा सहभागी परिषद्का प्रमुख तथा जिफन्ट उपाध्यष जनक चौधरीले प्रस्तावित संशोधनमाथि धारणा राख्दै यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र श्रमिकमैत्री बनाउन कानुनमा आवश्यक सुधार अपरिहार्य रहेको बताउनु भएको थियो । चौधरीका अनुसार यो विषय नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको मात्र नभएर यातायातको साधन चलाउने र उपयोग गर्ने सबैको साझा विषय भएको बताउनुभयो । उहाँका अनुसार यसलाई यहीबेला संशोधन गर्न सकिएन भने भविष्यमा सबैले दुःख पाउनुपर्ने दिन आउने बताउनुभयो । 

जिफन्टका उपाध्यक्ष विदुर कार्कीले यातायात श्रमिकको सम्मान, पेशागत सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी ऐनलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार समक्ष प्रस्तुत सुझावलाई थप सटिक बनाएर विषयगत रुपमा छलफल गरेर ऐन संशोधनमा नेतृत्व चनाखो हुनुपर्ने बताउनुभयो ।  जिफन्टका सचिव तथा श्रम सम्बन्ध परिषद् सचिव कृष्ण केसीले सुझावलाई थप व्यवस्थित बनाएर निर्णायक संवाद मार्फत श्रमिकका संशोधनका विषयहरुलाई समेट्नु पर्ने बताउनुभयो ।


कार्यक्रममा जिफन्टका उपमहासचिव कमला तामाङले संशोधनका विषयलाई जिफन्टले साझा एजेण्डका रुपमा प्रस्तुत गर्ने बताउनु भयो । कार्यक्रममा जिफन्टका सचिव विजया खड्का, स्मृति लामाले समेत सरकारले श्रमिकका विषयहरु समेट्न बाध्य हुनेगरी कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो । छलफलले प्रस्तुत तीन महले संशोधन प्रस्तावका विषयमा विस्तृत छलफल गर्दै प्राप्त सुझावलाई समेटेर प्रधानमन्त्री वालेन्द्र शाह समक्ष थप प्रभावकारी रूपमा पहल गर्ने योजना तर्जुमा गरेको छ ।
 

साहसी पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा साउन १७ गते प्रेश बिज्ञप्ति मार्फत पाकिस्तान स्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएका पर्वतारोहणका विश्वप्रसिद्ध नायक निर्मल पुर्जा ‘निम्स दाई’ तथा साहसी पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

शोक बिज्ञप्तीमा विश्व पर्वतारोहणको इतिहासमा अद्वितीय कीर्तिमान कायम गर्दै साहस, सङ्कल्प र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्ने नेपालका गौरव, पर्वतारोहणका विश्वप्रसिद्ध नायक निर्मल पुर्जा ‘निम्स दाई’ तथा उहाँका साहसी सहयात्रीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा पाकिस्तान स्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएको दुःखद समाचारले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अत्यन्त स्तब्ध तथा मर्माहत भएको उल्लेख गरेको छ।

उहाँहरूको असामयिक निधनले नेपालको पर्वतारोहण क्षेत्रले मात्र होइन, समग्र राष्ट्रले आफ्ना साहसी, समर्पित र प्रेरणादायी सन्ततिहरू गुमाएको भन्दै जिफन्टले यो घटना नेपालको पर्वतारोहण इतिहासका लागि अत्यन्त पीडादायी क्षति भएको बिज्ञप्तीमा भनेको छ ।
 

कुवेतमा ड्रोन आक्रमणमा परी सोमकुमार तामाङको मृत्यु

कुवेतको उत्तरी क्षेत्रमा साउन १४ गते भएको ड्रोन आक्रमणमा परी कुवेतमा सवारी चालकका रूपमा कार्यरत नेपाली नागरिक सोमकुमार तामाङको दुःखद निधन भएको खबरले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) परिवार अत्यन्त मर्माहत भएको जनाएको छ।

साउन १५ गते जिफन्टले प्रेश बिज्ञप्ती जारी गरी तेह्रथुम जिल्लाका ४४ वर्षीय तामाङको निधन प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

बिज्ञप्तीमा नेपाल सरकारसँग दिवंगत तामाङको पार्थिव शरीर यथाशीघ्र स्वदेश ल्याउने आवश्यक व्यवस्था गर्न, शोकाकुल परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक कूटनीतिक तथा प्रशासनिक पहल तत्काल अघि बढाउन जिफन्टले अनुरोध गरेको छ ।


पाकिस्तानको “ब्रोड पिक” हिमालमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित बेपत्ता खबरले यूनिट्राभ मर्माहत

पाकिस्तानस्थित “ब्रोड पिक” शिखर आरोहणका क्रममा हिम पहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा मगर (निम्स दाइ) सहित नेपाली आरोहीहरू (पुनबहादुर गुरुङ, निमा शेर्पा, ङवाङ्गथिन्दु शेर्पा, किली पेम्बा शेर्पा (किलु), गेलु शेर्पा सहित विदेशी नागरिक समेत) बेपत्ता भएको खबरले नेपाल ट्रेकिङ्ग-ट्राभल्स-र्याफ्टिङ्ग-एयरलाइन्स श्रमिक यूनियन (यूनिट्राभ) ले अत्यन्त मर्माहत भएका जनाएको छ।

यूनिट्राभले भनेको छ, ‘पर्यटन तथा पर्वतारोहण क्षेत्र नेपालको अन्तर्राष्ट्रिय पहिचान, गौरव र अर्थतन्त्रको महत्वपूर्ण आधार हो । प्रतिकूल मौसम, हिमपहिरो र अन्य प्राकृतिक जोखिमकाबीच आफ्नो ज्यानको बाजी राखेर कार्यरत पर्वतारोही, उच्च हिमाली गाइड तथा सहयोगी श्रमिकहरूले राष्ट्रको प्रतिष्ठा उँचो बनाउन पुऱ्याएको योगदान अतुलनीय छ । उनीहरूको साहस, समर्पण र व्यावसायिक दक्षताप्रति युनिट्राभ नेपाल उच्च सम्मान व्यक्त गर्दछ ।’

यस दुःखद घडीमा बेपत्ता रहेका सम्पूर्ण आरोहीहरूको शीघ्र सकुशल उद्धार होस् भन्ने कामना गर्दै खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, तीव्र र समन्वयात्मक बनाउन पाकिस्तानस्थित नेपाली दूतावास, पाकिस्तानी सरकार, सरोकारवाला सम्बन्धित निकाय तथा अन्तर्राष्ट्रिय समुदायसँग यूनिट्राभले अनुरोध गरेको छ साथै कुटनैतिक पहलकदमीका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयलाई यूनिट्राभले अनुरोध गरेको छ।
यस विपद्को समयमा विक्षिप्त आफन्त तथा परिवारजनका साथै सम्पूर्ण नेपाली पर्वतारोहण समुदायप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।

यूनिट्राभका अध्यक्ष सुमन प्रसाद पराजुली र महासचिव रामबहादुर श्रेष्ठद्वारा संयुक्तरूपमा जारी विज्ञप्ति भनिएको छ, ‘यस घटनाले पुनः एकपटक उच्च हिमाली क्षेत्रमा कार्यरत श्रमिकहरूको सुरक्षा, बीमा, उद्धार संयन्त्र, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षा, व्यवसायजन्य स्वास्थ्य सुरक्षालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार थप सुदृढ बनाउनु पर्ने आवश्यकता महशुस भएको छ । नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला निकायले यस विषयमा आवश्यक पहलकदमी गर्न नेपाल ट्रेकिङ, ट्राभल्स राफ्टिङ, एयरलाइन्स श्रमिक युनियन (यूनिट्राभ) नेपाल केन्द्रीय कमिटी परिवार आग्रह गर्दछ । यस कठिन घडीमा सम्पूर्ण पर्वतारोहण समुदायसँग सँगसँगै काम गर्न यूनिट्राभ नेपाल ऐक्यबद्धता व्यक्त गर्दछ ।’