??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

टेंकर चालक र सहचालक माथि साङ्घातिक हमलाप्रति जिफन्टको भर्त्सना

कैलाली जिल्लाको धनगढी उपमहानगर वडा नम्बर ३ स्थित भन्सार कार्यालय नजिकै मिलन चोकमा रहेको इन्धन ढुवानी गर्ने टेंकर पार्किङ स्थलमा भदौ २२ गते राती साढे ११ बजे अज्ञात समूहले साङ्घातिक आक्रमण गरेको छ । 

आक्रमणमा टेंकर चालक हरि देउवा र सहचालक अनिल देउवामाथि हमला गरी गम्भीर घाइते बनाएको घटनाप्रति (जिफन्ट) घोर आपत्ति र भर्त्सना गर्दछ । 

घाइते चालक र सहचालकको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको छ । हाल उनीहरूको माया मेट्रो अस्पतालमा उपचार भइरहेको । 

घटनाको न्यायिक छानबिन, संलग्नलाई कडा कारबाही गर्न र घाइते श्रमिकहरूको तत्काल उपचारको प्रबन्ध गर्न जिफन्ट जोडदार माग गर्दछ ।

समाजमा हुने यस्ता अपराधी क्रियाकलापहरू अन्त्य गर्दै श्रमिकहरूलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन पनि नेपाल सरकार समक्ष माग गर्दछ ।

त्यसैगरी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति घोर आपत्ति र भर्त्सना गरेको छ । घटनामा संलग्न जोकोही भए पनि तत्काल कानुनी दायरामा ल्याइ कडा कारबाही गर्न र घाइते श्रमिकहरूको तत्काल उपचारको प्रबन्ध गर्न जोडदार माग गरेको छ ।

श्रमसम्बन्धी समस्या समाधान गर्न साझा फोरमको स्थापना

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र नेपालका ३ ठुला ट्रेड युनियन महासंघहरूले श्रमसम्बन्धी समस्या समाधान गर्न साझा फोरमको स्थापना गरेका छन् । 

काठमाडौंको टेकुस्थित FNCCI, सचिवालयमा भाद्र १९ गते सम्पन्न बैठकले यस्तो सहमति गरेको हो ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले, श्रम बजारलाई व्यवस्थित गर्दै अगाडि बढ्ने दृष्टिकोण स्थापित गर्न आगामी दिनमा आउन सक्ने 

चुनौतीको दुई पक्षीय रूपमा न्यूनीकरणका उपाय पहिचान गर्दै जानुपर्नेमा जोड दिनुभयो । 

श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लानु पर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउँदै लान जरुरी रहेको बताउनु भयो । 

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधारोन्मुख भएता पनि भविष्यमा आउन सक्ने चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबिच सहकार्य र समन्वय हुनुपर्ने धारणा राख्नुभयो । 

बैठकमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ( JTUCC) का अध्यक्ष योगेन्द्र कुँवर र नेपाल उद्योग वाणिज्य महासङ्घकी उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले JTUCC  र ट्रेड युनियन बिच विगतमा भएका समझदारीलाई कार्यान्वयनमा लैजान कुनै बिलम्ब गर्न नहुने बताउनु भयो । 
 

नेपालमा सामाजिक संवाद प्रवर्द्धन र त्रिपक्षीय श्रम व्यवस्थालाई सुदृढ गर्ने कार्यशाला सम्पन्न

अन्तर्राष्ट्रिय श्रम संगठन (आईइलओ)को आयोजनामा "नेपालमा सामाजिक संवाद प्रवर्द्धन र त्रिपक्षीय श्रम व्यवस्थालाई सुदृढ गर्ने कार्यशाला" भदौ १९ गते ललितपुरमा सम्पन्न भयो ।

सामाजिक संवादमा देखा परेका समस्याहरूको बारेमा बोल्नु हुँदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रम प्रशासन सुदृढीकरण, श्रमिक पन्जीकरण, श्रम कानुन तथा ट्रेड युनियन ऐन संशोधन मार्फत सामूहिक सौध्दावाजीको प्रणाली स्थापित गर्न सक्ने बताउनु भयो ।

कार्यक्रममा आईइलओ नेपाल डाइरेक्टर नुमान ओज्कान सहित एनटीयुसी र अन्टुफका नेताहरूले आ–आफ्नो धारणा राख्नु भएको सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की लगायत प्रदेश अध्यक्षहरूको समेत सहभागिता रहेको थियो

 

लष्ट होराइजन इन्टरनेशनल ह्यान्डीक्राफ्टमा श्रमिक र व्यवस्थापक बिच सामूहिक सौदाबाजी

चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटमा संचालित लष्ट होराइजन इन्टरनेशनल ह्यान्डीक्राफ्टमा श्रमिक र व्यवस्थापक बिच सामूहिक सौदाबाजी भएको छ ।

सम्झौता अनुसार विगत ४ वर्षदेखि निरन्तर उद्योगमा कार्यरत २२ जना श्रमिकहरू २०८० साल साउन महिनादेखि नियमित रोजगार सम्झौता र न्यूनतम पारीश्रमिक लागू गर्ने, २०८१ साउन महिनादेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने सहमती भएको छ ।

असोज १५ गते व्यवस्थापक र श्रमिकबिच भएको सामूहिक सौदाबाजीमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश सचिब कृष्ण रिमाल, समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) बागमती प्रदेश अध्यक्ष बिदुर दानी, जिफन्ट चन्द्रागिरि अध्यक्ष राजभाइ श्रेष्ठ र सदस्य गोपाल आलेको उपस्थिति रहेको थियो ।

३९ स्थानीय तहका शिक्षकहरूले चाडपर्वमा पनि तलब पाएन

देशभरका ३९ वटा स्थानीय तहले शिक्षकहरूलाई गत साउनदेखिको तलब तथा चाडपर्व भत्ता नदिएको पाइएको छ । 

१२ जिल्लाका ३९ वटा पालिकाले संघीय सरकारले पठाएको पैसा समेत तलब नदिई रोकेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव हंसबहादुर शाहीले बताउनु भएको छ ।

सङ्घीय सरकारबाट उपलब्ध सशर्त अनुदान अनुसार स्थानीय तहहरूले समयमा नै तलब भत्ता वितरण गर्नुपर्नेमा हालसम्म ती पालिकाहरूले शिक्षकहरूको चाडपर्व खर्च तथा नियमित तलब भत्ता निकासा गरेका छैनन् जसले गर्दा शिक्षक कर्मचारीहरू समयमा नै तलब भत्ता प्राप्त गर्ने अधिकारबाट वञ्चित भएको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले विज्ञप्ति जारी गरेर संवैधानिक तथा कानुनी व्यवस्था बमोजिम तत्कालै शिक्षक तथा कर्मचारीहरूको तलब भत्ता निकासा गर्न माग गरेको छ । 
 

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा कार्यरत सयौं मजदुर प्रभावित

डेडिकेटेड तथा ट्रंकलाइन विद्युतको महसुल नतिरेको भन्दै विद्युत प्राधिकरणले लाइन काटेपछि वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा कार्यरत सयौं मजदुर प्रभावित भएका छन् । 

विद्युत आपूर्ति बन्द भएपछि औद्योगिक करिडोरमा सञ्चालित केही उद्योग बन्द हुँदा तिहारको मुखमा कामविहीन भएपछि मजदुर बिचल्लीमा परेका हुन् ।

औद्योगिक करिडोरमा सञ्चालित बहुराष्ट्रिय कम्पनी र स्वदेशी लगानीका उद्योगमा विद्युत आपूर्ति बन्द भएपछि त्यस क्षेत्रका मजदुरको रोजगारी जोखिममा परेको समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष आनन्द थामीले बताउनु भएको छ ।