शिक्षक आन्दोलन प्रति जिफन्टको ऐक्यबद्धता

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) महासचिव लक्ष्मण शर्माले निजी र सार्वजनिक गरी ८० प्रतिशत शिक्षक तथा कर्मचारी सामाजिक सुरक्षाबाट वञ्चित रहेको विद्यमान अवस्थामा देखिने गरी परिवर्तन गर्न, राहत, ईसिडी, कर्मचारी, प्राविधिक, स्थानीय तहबाट नियुक्त शिक्षक नर्स तथा सम्पूर्ण निजी विद्यालयका शिक्षक कर्मचारीहरूलाई, योगदानमा आधारित सामाजिक सुरक्षामा सूचीकृत हुने व्यवस्था गरिनुपर्ने बताउनु भएको छ । 

नेपाल शिक्षक महासङ्घद्वारा चालू राष्ट्रव्यापी आन्दोलनको पाँचौँ दिन, चैत्र २४ गतेको सभामा जिफण्ट महासचिव लक्ष्मण शर्माले, शिक्षक आन्दोलन प्रति जिफन्टको ऐक्यबद्धता व्यक्त गर्नुहुँदै सो कुरा बताउनु भएको हो । 

सभालाइ सम्बोधन गर्नु हुँदै महासचिव शर्माले, अब बन्ने शिक्षा ऐनमा संविधानको मौलिक हकमा व्यवस्था गरिए अनुसारको मानव अधिकार र श्रमिक अधिकारको सुनिश्चितमा कम्प्रोमाइज नगर्न शिक्षक नेताहरुलाई सुझाव दिनुभयो। 
महासचिव शर्माले गुणस्तरको लागि पर्याप्त लगानी, स्थानीय तहमा शिक्षकको संरक्षण र प्रोत्साहन तथा श्रम ऐनको उपभोग हुने गरी ऐन ल्याउन दबाब सृजना गर्न समेत आव्हान गर्नुभएको थियो ।