नेपालगन्ज मेडिकल कलेजमा विगत मंसिर २६ गते देखी आन्दोलनरत कर्मचारी युनियनहरूले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेललाई पुस ८ गते ज्ञापन पत्र बुझाएका छन् ।
व्यवस्थापन पक्षसँग २०८१ असार ४ गते ७ बुँदा र ४५ उपबुँदा मागपत्र राखेर व्यवस्थापन पक्षसँग पटकपटक वार्ता बसेपनि निष्कर्षमा नपुगेपछि कानुनी प्रक्रिया पुर्याएर आन्दोलनमा गएका थिए ।
मन्त्री पौडेलले ज्ञापन पत्र बुझ्दै हामीलाई यहाँको आन्दोलनको विषयमा थाहा भएको र छिटोभन्दा छिटो टुंगोमा पुर्याउन पहल गर्ने बताउनु हुँदै मंसिर २७ गते गरेको निर्णय पहिलेका मन्त्रीले गरेको निर्णय भएको र आफूले निर्णय कार्यान्वयन गर्न लागेको मन्त्री पौडेलले बताउनु भएको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरू अन्य निजामती कर्मचारीहरू भन्दा भिन्न भएको हुदा उनीहरूको सेवा सुविधा फरक हुनुपर्ने अर्थात धेरै हुनुपर्ने र मन्त्रालयको सचिव स्तरीय निर्णय सरकारी, निजी, सामुदायिक सबै अस्पतालमा लागू गरिने मन्त्री पौडेलले बताउनु भएको आन्दोलन केन्द्रीय परिचालन कमिटीको संयोजक रत्ना गिरीले जानकारी दिनु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेल बाँकेको भेरी अस्पतालमा सिकलसेसका बिरामीको उपचारको लागि बनेको छुट्टै वार्डको उद्घाटन गर्न नेपालगन्जमा आएको मौका पारेर आन्दोलनरत कर्मचारीहरूले ज्ञापन पत्र बुझाएका थिए ।
उक्त ज्ञापन पत्र बुझाउने क्रममा वार्ता टोलीका सदस्य नारायण प्रसाद पोखरेलले ज्ञापन पत्र पढेर सुनाउनु भएको थियो भने वार्ता टोलीका संयोजक रत्ना गिरी, सदस्य यम बहादुर खड्का र अनिता थापाले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो ।