Home Affiliates Activities

नेपाल चिया कफि श्रमिक युनियनद्वारा भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल चिया कफि श्रमिक युनियनद्वारा झापा जिल्लाको  १ नं. निर्वाचन क्षेत्रको भेला भाद्र १३ गते सम्पन्न गरेको छ । 

युनियनको क्षेत्रिय इन्चार्ज दिनेश गिरीकोअध्यक्षता भएको भेलाको प्रमुख अतिथी केन्द्रीय अध्यक्ष शन्तकुमार राईले चिया श्रमिकहरुले पाउनु रकम, योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सूचीकरण, बिगतको सम्झौताहरु कार्यन्वयन र मौसमी श्रमिकलाई  रोजगार सम्झौता लगायतका बिषयहरूका बारेमा  प्रकाश पार्नु भएको थियो । 

भेलामा केन्द्रीय उपाध्यक्ष सहिकुमार राई लगायतका नेताहरूको उपस्थिती रहेको थियो । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश महिला कमिटी अध्यक्षमा मनिषा सुबेदी

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश महिला कमिटीको भाद्र १३ गते सम्पन्न भेलाले मनिषा सुबेदीको अध्यक्षता ७ सदस्य प्रदेश महिला कमिटि निर्बाचित गरेको छ ।

जिफन्ट गण्डकी प्रदेश महिला कमिटी अध्यक्ष संगिता पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न भेलामा संगठन प्रतिनिधि परिषद उपप्रमुख कर्ण सि गुरुङ, प्रदेश इन्चार्ज बिष्णु बहादुर पराजुली, प्रदेश अध्यक्ष बेनिराज थिङ,र ललिता लामिछाने लगायतका अतिथिहरूको उपस्थीती रहेको थियो । 

भेला सिता सापकोटाको अध्यक्षतामा भएको थियो । 

सम्पर्कविहीन यातायात श्रमिकको खोजी गर्न माग

तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी, मैलुङ, पहिरेबेँसी, खाल्टे तथा नुवाकोटका विभिन्न बस्तीमा ठूलो क्षति भएको छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बाढी प्रभावित यातायात श्रमिकको तत्काल खोजी, उद्धार र अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशवबहादुर थापा ‘निरु’ले प्रभावित यातायात श्रमिकको जीवनरक्षा, उद्धार र राहतका लागि आवश्यक सहयोग तथा समन्वय गर्न संगठन तयार रहेको जनाइएको छ।

बाढीका कारण टिमुरे तथा आसपासका क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै ठूलो जनधनको क्षति भएकोप्रति संगठनले दुःख व्यक्त गरेको छ।

चीनको केरुङ नाकाबाट सामान ढुवानी गर्ने ट्रक तथा कन्टेनरका चालक, सहचालकसहित ठूलो संख्यामा यातायात श्रमिकले टिमुरे भन्सार आसपासका क्षेत्रलाई बसोबास तथा विश्रामस्थलका रूपमा प्रयोग गर्दै आएका छन्।

त्यसैले बाढीबाट स्थानीयसँगै सयौँ यातायात श्रमिकसमेत प्रभावित भएको संगठनको भनाइ छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि टिमुरेमा रहेका संगठनको अरनिको रुट ट्रक इकाईका केही सदस्य सम्पर्कविहीन भएको संगठनले जनाएको छ।

सदस्यहरू सम्पर्कविहीन भएपछि संगठन थप गम्भीर र चिन्तित बनेको विज्ञप्तिमा उल्लेख छ। संगठनले सम्पर्कविहीन यातायात श्रमिकको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि सरकार, गृह प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै निकायसँग जोडदार माग गरेको छ।

त्यसैगरी, टिमुरे तथा अन्य प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार टोली परिचालन गर्न, सम्पर्कविहीन श्रमिकको पहिचान गरी उनीहरूको अवस्था सार्वजनिक गर्न र प्रभावित चालक, सहचालक तथा अन्य यातायात श्रमिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत उपलब्ध गराउन संगठनले आग्रह गरेको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यथाशीघ्र यकिन विवरण सार्वजनिक गर्न तथा प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, स्वास्थ्य सेवा र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न पनि संगठनले माग गरेको छ।

संगठनले सम्पर्कविहीन श्रमिकका परिवारलाई धैर्यधारण र संयमता अपनाउन आग्रह गर्दै विपद्को समयमा उनीहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ।

‘उद्धारमा ढिलाइ नगरौँ, सम्पर्कविहीन श्रमिकको अवस्था तत्काल सार्वजनिक गरौँ,’ संगठनले सरकारसँग अपिल गरेको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका यातायात मजदुर, चालक, सहचालक तथा व्यवसायीको जीवनरक्षालाई उच्च प्राथमिकतामा राखी तत्काल उद्धार अभियान तीव्र बनाउनसमेत संगठनले सरकारसँग आग्रह गरेको छ।

क्युपेक अध्यक्षमा राजेन्द्र बिष्ट निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक–नेपाल) को आठौँ राष्ट्रिय महाधिवेशनले राजेन्द्र बिष्टको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले भाद्र ५ गते महाधिवेशनको उद्धघाटन गर्नु हुंदै महाधिबेशन सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

सामाजिक सुरक्षा श्रमिक आन्दोलनको महत्वपूर्ण उपलब्धि भए पनि अनौपचारिक क्षेत्रमा कार्यान्वयनको समस्या रहेको र श्रमिकको सीपलाई औपचारिक रूपमा प्रमाणीकरण गर्ने विषय अझै चुनौतीका रूपमा रहेको बताउनु भयो ।

बदलिँदो श्रम बजार र प्रविधिको युगअनुसार संगठनलाई नयाँ ढंगले परिमार्जन गर्दै निरन्तर सक्रिय बनाउनुपर्नेमा जोड दिंनुहुंदै श्रेष्ठले नयाँ पुस्तालाई ट्रेड युनियन आन्दोलनको नेतृत्व हस्तान्तरण गर्न लोकतान्त्रिक अभ्यासमा हुर्किएको र जिम्मेवारी बहन गर्न सक्षम नया पुस्ताको नेतृत्व तयार गर्नुपर्ने बताउनुभएको थियो । 

उद्धघाटन समारोहमा जिफन्ट उपाध्यक्ष सीता लामा, बिडब्लुअइ BWI एसिया प्रशान्त क्षेत्रीय संयोजक एपोलिनार टोलेनटीनो, काउन अध्यक्ष प्रदिप अचार्य, अंकु अध्यक्ष अमित लामा र जिफन्ट अवद्ध युनियनको तैफबाट नेष्ट अध्यक्ष माया गुरूङले महाधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो । 

महाधिवेशनको फोटोहेर्न तलको लिंकमा क्लिक गर्नुहोेस् ।

https://www.facebook.com/media/set/?set=a.122203404932435116&type=3

https://www.facebook.com/media/set/?set=a.122203420820435116&type=3

नाबुन महालक्ष्मी नगरपालिका कमिटीको अध्यक्षमा सुधा थापा

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध  राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका कमिटीको भाद्र ४ गते सम्पन्न प्रथम अधिवेशनले सुधा थापाको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित गरेको छ।

नाबुन महालक्ष्मी नगर कमिटी अध्यक्ष पुनम थापाको अध्यक्षतामा भएको अधिवेशनमा केन्द्रीय अध्यक्ष सुजना जोशिले सौन्दर्यकर्मीहरूको हक हित र पेशागत सुरक्षाका लागी संगठनको आबश्यकता रहेको भन्नु हुंदै सौन्दर्यकर्मीहरूको दक्षता अभिवृद्धिका लागी संगठनले कार्यक्रमहरू संचालन गरी रहेको बताउनु भयो । 

अधिबेशनमा नाबुन बाग्मती प्रदेश आर्थिक सचिव सोलिना लामा, ललितपुर जिल्ला समन्वय समिती संयोजक जयन्ती रानामगर लगायतका अतिथिहरूको उपस्थित रहेको थियो । 
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा बाह्रौँ राष्ट्रिय अधिवेशनको लोगो सार्वजनिक

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा साउन २३ गते बाह्रौँ राष्ट्रिय अधिवेशनको तयारीकालागी आयोजित कार्यशालामा संगठनको १२औँ राष्ट्रिय महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ।

‘सार्वजनिक यातायातमा प्रविधिमैत्री सेवा, मर्यादित श्रम र सुनिश्चित सामाजिक सुरक्षा’ भन्ने मूल नारासहित महाधिवेशनको लोगो सार्वजनिक गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले ‘प्रविधिको तीव्र विकास भएसँगै यातायात क्षेत्रलाई पनि प्रविधिमा रूपान्तरण गर्ने दायित्व बढेको भन्नु हुंदै श्रमिक आन्दोलन पनि समयको परिवर्तनसँगै अगाडि बढ्नुपर्ने बताउनु भयो । 

संगठनका अध्यक्ष भीमज्वाला राईले आगामी असोज ३ र ४ गते काठमाडौंमा आयोजना हुने महाधिवेशनलाई यातायात श्रमिकको अधिकार र सामाजिक सुरक्षासँगै सार्वजनिक यातायात क्षेत्रको रूपान्तरणका लागि नयाँ कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भयो । 

कार्यशालामा जिफन्टका उपाध्यक्ष विदुर कार्की र महासचिव लक्ष्मण शर्माले समसामयिक श्रम, संगठन तथा सामाजिक–आर्थिक विषयमा मन्तब्य राख्नु भएको थियो ।