नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध राईडर्स युनियन नेपाल (रन) को तेस्रो स्थापना दिवसको सन्दर्भमा साउन २२ गते जिफन्ट सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै प्रविधिको तीव्र विकाससँगै डिजिटल प्लेटफर्ममा आबद्ध श्रमिकहरूलाई संगठित गर्दै नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अध्यक्ष श्रेष्ठले राइड सेयरिङ, फुड डेलिभरी, अनलाइन सेवा, फ्रिलाईन्सर, ई–कमर्स, लगायतका क्षेत्रमा कार्यरत श्रमिकलाई डिजिटल माध्यम मार्फत संगठित गर्ने अभियानलाई बिस्तार गर्नु पर्ने बताउनु हुंदै गत जुनमा सम्पन्न ११४औँ अन्तरर्राष्ट्रिय श्रम सम्मेलनबाट प्लेटफर्म अर्थतन्त्रमा हुने काम सम्बन्धी अन्तर्राष्ट्रिय श्रम मापदण्ड तय गर्ने ऐतिहासिक निर्णय गरेको बताउदै अब नेपालमा प्लेटफर्म श्रमिकहरूकालागी कानुन निर्माणकालागी दवाब सिर्जना गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा राईडर्स युनियन नेपालका केन्द्रीय अध्यक्ष माधव पाण्डेले संगठनको इतिहास छोटो भए पनि श्रमिक वर्गबीचको एकता र सहकार्यले संगठन विस्तार, सुदृढीकरण र श्रमिक अधिकारको संरक्षणका लागि अझ सशक्त रूपमा अघि बढ्ने होसल्ला मिलेको बताउनु भयो ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट शुभकामना मन्तव्य राख्नुभएको थियो ।
राईडर्स युनियन नेपालका उपाध्यक्ष वंशी भट्टराईले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव सुदीप विकले गर्नु भएको थियो ।
पाकिस्तानस्थित “ब्रोड पिक” शिखर आरोहणका क्रममा हिम पहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा मगर (निम्स दाइ) सहित नेपाली आरोहीहरू (पुनबहादुर गुरुङ, निमा शेर्पा, ङवाङ्गथिन्दु शेर्पा, किली पेम्बा शेर्पा (किलु), गेलु शेर्पा सहित विदेशी नागरिक समेत) बेपत्ता भएको खबरले नेपाल ट्रेकिङ्ग-ट्राभल्स-र्याफ्टिङ्ग-एयरलाइन्स श्रमिक यूनियन (यूनिट्राभ) ले अत्यन्त मर्माहत भएका जनाएको छ।
यूनिट्राभले भनेको छ, ‘पर्यटन तथा पर्वतारोहण क्षेत्र नेपालको अन्तर्राष्ट्रिय पहिचान, गौरव र अर्थतन्त्रको महत्वपूर्ण आधार हो । प्रतिकूल मौसम, हिमपहिरो र अन्य प्राकृतिक जोखिमकाबीच आफ्नो ज्यानको बाजी राखेर कार्यरत पर्वतारोही, उच्च हिमाली गाइड तथा सहयोगी श्रमिकहरूले राष्ट्रको प्रतिष्ठा उँचो बनाउन पुऱ्याएको योगदान अतुलनीय छ । उनीहरूको साहस, समर्पण र व्यावसायिक दक्षताप्रति युनिट्राभ नेपाल उच्च सम्मान व्यक्त गर्दछ ।’
यस दुःखद घडीमा बेपत्ता रहेका सम्पूर्ण आरोहीहरूको शीघ्र सकुशल उद्धार होस् भन्ने कामना गर्दै खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, तीव्र र समन्वयात्मक बनाउन पाकिस्तानस्थित नेपाली दूतावास, पाकिस्तानी सरकार, सरोकारवाला सम्बन्धित निकाय तथा अन्तर्राष्ट्रिय समुदायसँग यूनिट्राभले अनुरोध गरेको छ साथै कुटनैतिक पहलकदमीका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयलाई यूनिट्राभले अनुरोध गरेको छ।
यस विपद्को समयमा विक्षिप्त आफन्त तथा परिवारजनका साथै सम्पूर्ण नेपाली पर्वतारोहण समुदायप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।
यूनिट्राभका अध्यक्ष सुमन प्रसाद पराजुली र महासचिव रामबहादुर श्रेष्ठद्वारा संयुक्तरूपमा जारी विज्ञप्ति भनिएको छ, ‘यस घटनाले पुनः एकपटक उच्च हिमाली क्षेत्रमा कार्यरत श्रमिकहरूको सुरक्षा, बीमा, उद्धार संयन्त्र, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षा, व्यवसायजन्य स्वास्थ्य सुरक्षालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार थप सुदृढ बनाउनु पर्ने आवश्यकता महशुस भएको छ । नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला निकायले यस विषयमा आवश्यक पहलकदमी गर्न नेपाल ट्रेकिङ, ट्राभल्स राफ्टिङ, एयरलाइन्स श्रमिक युनियन (यूनिट्राभ) नेपाल केन्द्रीय कमिटी परिवार आग्रह गर्दछ । यस कठिन घडीमा सम्पूर्ण पर्वतारोहण समुदायसँग सँगसँगै काम गर्न यूनिट्राभ नेपाल ऐक्यबद्धता व्यक्त गर्दछ ।’
चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था गरिएको नयाँ ऐन मार्फत सरकारले यातायात मजदुर, स्वरोजगार व्यवसायीलाई विस्थापित गर्ने खतरा बढाएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले तत्काल ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन काठमाण्डौं उपत्यका बुकिङ कमिटीको साउन १३ गते सम्पन्न दोस्रो अधिवेशन उद्घाटन गर्दै संगठनको अध्यक्ष भीमज्वाला राईले यस्तो कुरा बताउनु भएको हो । राईका अनुसार नयाँ कानुनले सडक सुरक्षालाई प्रवद्र्धन गर्नु आवश्यक भए पनि सजायमुखी व्यवस्थालाई मात्र प्राथमिकता दिँदा देशका १३ लाख यातायात मजदुर, स्वरोजगार र व्यवसयाीको पेशामा प्रत्यक्ष असर पर्ने बताउनु भयो । राईको भनाइमा ५ सयदेखि एक लाख रुपैयाँसम्मको जरिवाना असहनीय हुने मात्र होइन, जेल सजायको व्यवस्थाले उनीहरूको परिवारसमेत संकटमा पर्ने अवस्था सिर्जना हुने कुरा बताउनुभयो ।
सार्वजनिक यातायात क्षेत्रमा यातायात मजदुरहरु र साना लगानीका स्वरोजगारमा आधारित वर्गको उल्लेख उपस्थिति रहेकाले कानुनमा हुने यस्ता कठोर दण्डात्मक व्यवस्थाले मजदुर विस्थापित हुने र व्यवसाय बन्द हुने बताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राईले दुर्घटना न्यूनीकरणका लागि चालकको क्षमता विकास, नियमित तालिम, सुरक्षित सडक पूर्वाधार, प्रभावकारी ट्राफिक व्यवस्थापन तथा सवारीको प्राविधिक परीक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको छ । अध्यक्ष राईका अनुसार दण्ड मात्र बढाएर सडक सुरक्षा सुनिश्चित गर्न सकिँदैन; त्यसका लागि सुधारात्मक र निवारणमुखी नीति आवश्यक हुन्छ ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले यातायात मजदुर तथा व्यवसायीका प्रतिनिधिहरु सहितका सरोकारवालासँग छलफल गरेर बन्ने कानुनलाई व्यावहारिक, न्यायोचित र श्रम र लगानीमैत्री बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
त्यसैगरी संगठनका केन्द्रीय उपाध्यक्ष तथा बागमती इन्चार्ज नवराज घिमिरेले सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने उद्देश्यमा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै श्रमिक र स्वरोजगार व्यवसायीको अस्तित्व नै संकटमा पार्ने प्रावधानहरू पुनर्विचार गर्न सरकारसंग आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव देविन श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका बागमती अध्यक्ष बेदप्रसाद घिमिरे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता घनेन्द्र विष्ट र सञ्चालन सचिव पवन धरेलले गर्नुभएको थियो ।
अधिवेशनले लोकनाथ सुवेदी (प्रकाश)को अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्षमा खड्गबहादुर मगर (मिलन), सचिवमा पवन धरेल, सहसचिव सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा सुवास बराल चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा कर्म वाइबा, रमेश श्रेष्ठ, विष्णु खड्का, संग्राम लामा, बालमुकुन्द घिमिरे रहनु भएको छ । सल्लाहकारहरुमा देविन श्रेष्ठ, भर्जमान राई, रमेश खड्का र राजेन्द्र थोकर रहनु भएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले साउन ४ र ५ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत पूर्वाधार विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाउँदै ऐनमा प्रस्तावित ५ सयदेखि १ लाख रुपैयाँसम्मको जरिवाना तथा केही दफा संशोधन गर्न माग गरेको छ ।
संगठनले सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई प्रतिस्थापन गर्न ल्याउन लागेको सवारी तथा यातायात ऐन, २०८३ को दफा ६२ अन्तर्गत ३९ शीर्षकमा ५ सयदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको भन्दै त्यसप्रति मजदुर मात्र नभई सर्वसाधारणको समेत असन्तुष्टि रहेको जनाएको छ।
संगठनले हाल कायम रहेको न्यूनतम जरिवाना यथावत् राखेर अधिकतम जरिवानामा मात्रै सीमित वृद्धि गर्न सुझाव दिएको छ। पहिलेको ऐनमा अधिकांश कसुरमा ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको भन्दै अहिले प्रस्ताव गरिएको जरिवाना अत्यधिक रहेको संगठनले जनाएको छ ।
त्यस्तै, दफा ६५ मा रहेको ‘ज्यान मारेमा हुने सजाय’ भन्ने शब्दावलीलाई ‘ज्यान मरेमा हुने सजाय’ बनाउन तथा उपदफा (२) मा रहेको ‘तीन वर्षदेखि दश वर्ष’ को सट्टा ‘बढीमा दश वर्षसम्म’ भन्ने व्यवस्था राख्न संगठनले माग गरेको छ।
प्रस्तावित ऐनमा मापसे वा लापसे गरी सवारी चलाए, अत्यधिक गति, लेन अनुशासन उल्लंघन, मोबाइल प्रयोग, अपारदर्शी सिसा प्रयोग, बढी यात्रु बोक्ने, बीमा नगरी सवारी चलाउने, ट्राफिक संकेत उल्लंघन, हेल्मेट वा सिटबेल्ट नलगाउनेलगायत ३९ प्रकारका कसुरमा ५ सयदेखि १ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ।
संगठनले सरोकारवालासँग व्यापक छलफल गरी मजदुर तथा सर्वसाधारणमैत्री व्यवस्था समेटेर मात्रै सवारी तथा यातायात ऐन, २०८३ जारी गर्न सरकारसँग माग गरेको छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन ( नेस्वहोमयु ) होटल पोखरा ग्राण्ड इकाईको असार २८ गते सम्पन्न छैटौं अधिवेशनले यम प्रसाद शर्माको अध्यक्षतामा १४ सदस्यीय कमिटी गठन गरेको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै युनियन केन्द्रीय अध्यक्ष लक्ष्मण तिवारीले होटल श्रमिकले पाउदै आएको १०% सेवा शुल्क पुन प्राप्ति र योगदानमा आधारित सामाजिक सुरक्षाको पुर्ण कार्यान्वयनकालागि संगठित भएर लाग्नु पर्ने बताउनु भएको छ ।
अधिवेशनमा जिफण्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले राजनीतिक परिवर्तन पश्चात् सरकारले ट्रेड युनियन अधिकारलाई संकुचन गर्दै संविधान र कानुन प्रदत्त श्रमिक अधिकार खोस्न खोजेको आरोप लगाउदै अधिकार रक्षाका लागि सबै श्रमिक संगठित हुनुपर्ने बताउनु भयो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, (नाबुन) देवदह नगर कमिटीको आयोजनामा असार २७ गते एक दिने मेकअप सम्बन्धी शिप अभिबृद्धी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले सौन्दर्य व्यवसाय पछिल्लो समय महिला आत्मनिर्भरताको एक बलियो र सम्मानित माध्यम बनेको बताउनु हुंदै महिलाहरू आर्थिक रूपमा सबल नभएसम्म समाजको वास्तविक रूपान्तरण सम्भव नहुने जिकिर गर्दै देवदह नगरपालिकाले महिलाहरूको सीप विकास र उद्यमशीलतालाई सधैं प्राथमिकतामा राखेको र आगामी दिनमा पनि यस्ता व्यावसायिक तालिमहरूका लागि आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा जिफन्ट लुम्बीनी प्रदेश अध्यक्ष हुमकान्त काफ्ले, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रीय सदस्य पवि खनाल, सिद्धार्थनगर नगर कमिटी सल्लाहकार एवं वरिष्ठ ब्युटिसियन उषा किरण गुरुङ र बुटवल नगर कमिटीका अध्यक्ष शान्ता खत्री लगायतले मन्तब्य राख्नु भएको थियो ।

नाबुन बागमती प्रदेश अध्यक्ष तथा मेकअप आर्टिस्ट करुणा पुरीले आधुनिक मेकअप प्रविधिका बारेमा प्रशिक्षण दिनुभएको कार्यक्रममा देवदह, बुटवल र भैरहवा क्षेत्रका ६५ जना सौन्दर्यकर्मीहरको सहभागिता रहेको थियो ।
देवदह नगर कमिटीका अध्यक्ष जस्मिन गुरुङको अध्यक्षतामा उपाध्यक्ष विद्या थापाले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव बन्दना भुसाल भट्टराईले गर्नुभएको थियो।