सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईइलओ)को आयोजनामा "नेपालमा सामाजिक संवाद प्रवर्द्धन र त्रिपक्षीय श्रम व्यवस्थालाई सुदृढ गर्ने कार्यशाला" भदौ १९ गते ललितपुरमा सम्पन्न भयो ।
सामाजिक संवादमा देखा परेका समस्याहरूको बारेमा बोल्नु हुँदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रम प्रशासन सुदृढीकरण, श्रमिक पन्जीकरण, श्रम कानुन तथा ट्रेड युनियन ऐन संशोधन मार्फत सामूहिक सौध्दावाजीको प्रणाली स्थापित गर्न सक्ने बताउनु भयो ।
कार्यक्रममा आईइलओ नेपाल डाइरेक्टर नुमान ओज्कान सहित एनटीयुसी र अन्टुफका नेताहरूले आ–आफ्नो धारणा राख्नु भएको सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की लगायत प्रदेश अध्यक्षहरूको समेत सहभागिता रहेको थियो
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा " विद्यमान बालश्रम उन्मूलन सम्बन्धी मुद्दाहरूमा सांसदहरू बिच छलफल कार्यक्रम" भाद्र १९ गते काठमाण्डौमा सम्पन्न गरेको छ ।

जिफन्ट अध्यक्ष श्रेष्ठले बालश्रमका कारणले उब्जेका समस्याहरूका बारेमा ३ दशक लामो समयदेखि यातायात, इँटा भट्टा, गलैँचा, सह-चालक, सफाई मजदुर, चिया बगान, होटल, रेष्टुरेष्ट, घरेलु क्षेत्रमा बालश्रम उन्मुलनकालागि जिफन्टले गरेको काम कोशेढुंगा साबित भएको बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले संसदीय विभाग प्रमुख माननिय योगेश भट्टराईले श्रमिक पक्षधर पार्टी नेकपा एमाले भएको हुनाले बालश्रम, लगायतका विभिन्न सामाजिक बिकृतीरूका विषयहरू पार्टीले चासो लिँदै आएको बताउनु भएको छ ।
माननिय भट्टराईले संसदमा पेस भएका विधेयक र पेस गर्न बाँकी विधेयकलाई औपचारीक तथा अनौपचारीक रूपमा छलफल गरी एकीकृत धारणा बनाउन आवश्यक रहेको बताउनु हुँदै संसदमा पेस हुने हरेक विधेयकहरू माथिको छलफलमा प्रभावकारी भूमिका निर्वाह गर्न नेकपा एमालेको तर्फबाट संसदीय विषयगत समितिमा रहनु भएका माननियहरू सँग नियमित छलफल गर्ने बताउनु भयो ।

कार्यक्रममा अधिवक्ता भक्तिराम घिमिरेले बालश्रम उन्मूलन सम्बन्धी र बालश्रमको अवस्थाका बारेमा बारेमा अधिवक्ता भक्ती घिमिरेले प्रस्तुतीकरण गर्नु भएको सो कार्यक्रममा स्वतन्त्रता अभियानका प्रमुख : ऋतु भट्टले "बालश्रम उन्मूलनको कानुनी अवस्थाको बारेमा मन्तब्य राख्नु हुँदै नेपालको आर्थिक स्थिति सुधार्न निर्यातलाई बढाउनु पर्ने र सामन्तवादको अन्त्य गर्न बालश्रम उन्मूलन हुनु जरुरी रहेको बताउनु भयो ।

छलफल कार्यक्रममा माननिय अच्युत मैनालीले बालश्रम उन्मूलन चेतनासँग जोडिएको विषय भएको बताउनु भयो भने बागमती प्रदेश सभा सदस्य माननिय केशब पोखरेलले बालश्रम उन्मूलन विषयमा बजेट हुँदा मात्र काम गरे जस्तो गर्ने परिपाटीको अन्त्य हुनु पर्नेमा जोड दिनु भयो ।

राष्ट्रिय समावेशी आयोगका सदस्य माननीय हरिदत्त जोशीले जोखिममूलक क्षेत्र पहिचान गरी अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको सो छलफलमा माननीय अमृता देवी अग्रहरी, माननिय शान्ती श्रेष्ठ, दिपा शर्मा, बागमती प्रदेश सभा सदस्य माननिय उर्मिला सुनुवार र पूर्व माननिय तथा अनेमसंघ महासचिव पेम्बा लामा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिपक ढकालले बालश्रमको परिभाषामा फरक हुन नहुने भन्नु हुँदै बालश्रम बाध्यताको उपज रहेको बताउँदै सरकारले प्रभावकारी कदम अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।

थप फोटोकालागि https://www.facebook.com/media/set/?set=a.122115780122435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) दोलखा जिल्लाको भदौ १८ गते सम्पन्न महिला सम्मेलनले सिता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय क्युपेक नेपाल जिल्ला महिला कमिटी गठन गरेको छ ।
नेकपा एमालेको चरिकोटस्थित जिल्ला कार्यालयको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले दोलखा जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठले नवगठीत महिला कमिटीलाइ कार्यकाल सफलताको शुभकामना दिनु हुँदै श्रमिकहरूको अधिकारकालागी नेकपा एमाले सधैँ जिफन्टको साथ रहेको बताउनु भयो ।
सम्मेलनमा बागमती प्रदेश सभा सदस्य माननीय भरत बहादुर केसी, अखिल नेपाल महिला संघ दोलखा जिल्ला अध्यक्ष मेनुका सुवेदी, नेकपा एमाले दोलखा जिल्ला सदस्य शक्ति पाठक लगायतले नवगठीत महिला कमिटीलाइ शुभकामना मन्तब्य राख्नु भएको थियो ।
क्यूपेक नेपाल जिल्ला अध्यक्ष दानबहादुर बिमलीले नवगठीत कमिटीलार्इ पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको सो कार्यक्रममा हरितालिका तीज पर्वको शुभकामना आदान प्रदान समेत गरेका थिए ।
"जहाँ यातायात श्रमिक त्यहा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन" भन्ने नाराकासाथ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती ट्रिपर इकाई कमिटीले भदौ १८ गते घुम्ती शिबिर संचालन गर्यो ।
संगठनका उपाध्यक्ष एवम बागमती प्रदेश इन्चार्ज नवराज घिमिरेको प्रमुख आतिथ्यमा सञ्चालित घुम्ती शिविरमा सदस्यता विस्तार र नविकरण गरिएको थियो ।
त्यसैगरी, संगठनको पनौती नगर कमिटिको १८ औं बैठकले चाडपर्व लक्षित सवारी साधन आधारित दुर्घटना न्यूनीकरण अभियान संचालन गर्ने निर्णय गरेको छ ।
प्रनिल जोशीको अध्यक्षतामा सम्पन्न उक्त बैठकका प्रमुख अतिथि एवम् केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले नबनिर्बाचित कमिटीलाई प्रमाण–पत्र बितरण गर्नु भएको थियो ।
बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल गण्डकी प्रदेशले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।
प्रदेश अध्यक्ष आह्वान सुबेदीको अध्यक्षतामा भाद्र १९ गते सम्पन्न गण्डकी प्रदेश कमिटीको बैठकले सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश अध्यक्ष रुद्र बहादुर खत्रीले ओम्स नेपाल जिफन्टमा सम्बद्ध युनियनहरू भन्दा कार्य प्रकृति फरक रहेको यस युनियनको भविष्य उज्वल रहेको बताउनु हुँदै जिफन्टको नीति तथा कार्यक्रमको बारेमा प्रस्ट्याउनु भएको थियो ।
त्यसैगरी बैठकमा ओम्स नेपालका वरिष्ठ उपाध्यक्ष बसन्तराज सिग्देल र महासचिव नवराज भुर्तेलले अभियानको सफलताको कामना गर्दै, गत भाद्र ८ गते बुटवलमा सम्पन्न प्रथम अधिवेशनले पारित युनियनको नीति तथा कार्यक्रमको बारेमा प्रकाश पार्नु हुँदै, बजार व्यवस्थापन तथा बिक्री क्षेत्रका श्रमिकहरूमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनका लागि एकजुट भएर लाग्न सदस्यहरूलाई आव्हान गर्नुभयो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आवद्ध युनियनका २६ जना सदस्यहरूलाइ ६ लाख ५० हजार उपचार राहत प्रदान गर्ने भएको छ ।
जिफन्टले स्थापना गरेको ऐक्यबद्धता कोषबाट विभिन्न रोगबाट ग्रसित सदस्यहरुलाई उपचार राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
जिफन्टका महासचिव लक्ष्मण शर्माको अध्यक्षतामा भदौ १८ गते बसेको बैठकले क्यान्सर पीडित ११ जना, मुटु रोगबाट ग्रसित ५ जना, मृगाला रोगी ५ जना र प्यारालाइसिसबाट थलिएका ५ जना गरि जम्मा २६ जना विभिन्न क्षेत्रका श्रमिकहरुलाई उपचार सहयोग दिने निर्णय गरेको हो ।
उपचार राहत पाउनेहरुमा यातायात श्रेत्रका श्रमिकहरु ८ जना, निर्माण क्षेत्रका ७ जना स्वास्थ्य स्वयमसेवी श्रमिकहरु ४ जना, होटल क्षेत्रका श्रमिकहरु २ जना, उद्योग क्षेत्रमा काम गर्ने श्रमिकहरु ३ जना र घर आधारित श्रमिकहरु २ जना रहेको जिफन्टका महासचिव तथा ऐक्यबद्धता कोषका अध्यक्ष लक्ष्मण शर्माले जानकारी दिनु भएको हो ।