सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) ले नरदेवी इकाईमा भाद्र १४ गते व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न गरेको छ।
नेपाल ट्रेड युनियन महसंघ जिफन्ट व्यवसायजन्य सुरक्षा र स्वास्थ्य विभाग सचिव वेलीमैया घले र हुन महासचिव ज्ञानु केसीले, गृह श्रमिकहरूले गर्ने कामका कारण स्वास्थ्यमा पर्ने असर र त्यसबाट सुरक्षित हुने उपाएका बारेमा प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा काठमाडौँ महानगरपालिका -१८ नम्बर वडा अध्यक्ष न्हुच्छे काजि महर्जनले कार्यक्रम सफलताको शुभकामना दिनु हुँदै श्रमिकहरूले अनुशासित र नैतिकवान ढङ्गले आफ्नो काम गरे कामको मर्यादा हुने कुरा बताउनु भयो।
कार्यक्रममा जिफन्टका पुरानो नेता कबिन्द्र शेखर रिमाल, हुन सचिव अनिता तुलाधर र जनप्रतिनिधिहरू रचना राजभण्डारी र अम्बीका सुनारको उपस्थिति रहेको थियो।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टको आयोजनामा चिया तथा अलैँची क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवर्धनका लागी भाद्र १३ गते इलाम नगरपालिकामा, भाद्र १४ गते बिर्तामोड र दमक नगरपालिकामा कार्यशालाको आयोजना गरेको छ ।
जिफन्ट उपाध्यक्ष विदुर कार्कीले ३ वटै कार्यशालामा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा, स्थानीय तहमा श्रम डेक्सटप स्थापना र योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा जिफन्टको अवधारणा प्रस्तुत गर्नु भयो ।

इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खडकाले प्रस्तुत अवधारणालाई आधार बनाइ आगामी नगर सभामा श्रमिकहरूको व्यवसायजन्य स्वास्थ्य र सुरक्षा, श्रम डेक्सटप स्थापना र योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकहरू सूचीकृत गर्ने सम्बन्धका कार्यविधि पेश गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यशालामा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, चिया कफि श्रमिक युनियनका केन्द्रिय अध्यक्ष सन्त कुमार राई, नेकपा एमाले इलाम जिल्ला सदस्य नरेन्द्र खडका, जिफन्ट इलाम जिल्ला समन्वय कमिटी संयोजक जगत नेम्वाङ्ग नगरपालिकाका कृषि र सामाजिक शाखाका कर्मचारी लगाएत, चिया श्रमिकहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरपालिकामा रहेका रोजगारदाता, श्रमिक र जनप्रतिनिधिको संयुक्त भेला गरी श्रमिकहरूको सन्दर्भमा छलफलको गरी श्रम क्षेत्रमा रहेको समस्यालाई समाधान गर्न नगरपालिकाले पहले गर्ने प्रतिबद्धता जनाउने भयो।
कार्यशालामा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, चिया कफि श्रमिक युनियनका केन्द्रिय अध्यक्ष सन्त कुमार राई, जिफन्ट झापा जिल्ला संयोजक खेम पोख्रेल, नगरपालिकाका रोजगार शाखाका कर्मचारीहरु, चिया कफी श्रमिक युनियनका केन्द्रिय उपाध्यक्ष सहिकुमार राई र चिया श्रमिकहरूको उपस्थित रहेको थियो ।

त्यसैगरी दमक नगरपालिकामा सम्पन्न कार्यशालामा नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईले जिफन्टले प्रस्तुत गरेको अवधारणाको सम्बन्धमा नगरपालिकामा भित्र रहेका रोजगारदाता, श्रमिक र जनप्रतिनिधि बिच कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यशालामा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, रोजगार शाखाका कर्मचारीहरु, सामाजिक शाखाका कर्मचारी, जनप्रतिनिधि, नेकपा एमालेका प्रदेश ,जिल्ला, नगर तहका नेताहरूको सहभागीता रहेको थियो ।
इलाम, बिर्तामोड र दमक नगरपालिकामा सम्पन्न ३ वटै कार्यशालाको संचालन जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारीले गर्नु भएको थियो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) उपमहानगरपालिका इटहरीको आयोजनामा भदौ १२ गते हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नाबुन सचिवालय सदस्य ममता प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता सृजना बस्नेतले गर्नु भएको थियो ।

त्यसैगरी नाबुन बिर्तामोड नगर कमिटीको आयोजनामा भाद्र १४ गते जिफन्ट उपाध्यक्ष बिदुर कार्किको प्रमुख आतिथ्यमा हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष बिदुर कार्किले, जिफन्ट देशव्यापी सशक्त महिला सम्बद्ध नेपाल भन्ने अभियान लिएर अगाडि बढी रहेको भन्नु हुँदै सवै खाले श्रमजीवी वर्ग संगठित भए मात्र ऐन कानुन कार्यन्वयन हुने र सवै खाले समस्याबाट मुक्त हुन सकिने बताउँदै पेशा अनुसारको यूनियनममा आबद्ध हुन आव्हान गर्नु भयो ।
शुभकामना कार्यक्रममा बिर्तामोड नगर उप प्रमुख नगेन्द्र संग्रौला, चिया कफि श्रमिक युनियन अध्यक्ष शन्तकुमार राई, नाबुन केन्द्रीय सदस्य धनु कन्दङ्वा, र सञ्चारकर्मी भिमा सिवाकोटी लगायतले हरितालिका तीजको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाई कमिटीको ३१ औ स्थापना दिवस तथा इकाईको १७ औ अधिवेशन भाद्र १४ गते दुर्गा बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।
अधिवेशनले दावा शेर्पाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति र तीन सदस्यीय सल्लाहकार समिति निर्वाचित गरेको छ।

संगठन केन्द्रीय अध्यक्ष कमरेड भिम ज्वाला राईको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनमा उपचार सहयोग बापट ७ जना सदस्यलाई २ लाख ५१ हजार, एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने यातायात श्रमिकका १० जनालाई छोराछोरीलाई ४६ हजार नगद सहित सम्मान, उत्कृष्ट चालक १२ जनालाई ३०हजार नगद सहित सम्मान, संगठनका सदस्यहरूका २ परिवारलार्इ उपचार सहयोग बापत २० हजार, १ जना जेष्ठ चालकलाई १५ हजार नगद सहित सम्मान र संगठनका कुशल सदस्य २ जनालाई ५हजार नगद सहित सम्मान गरेको छ ।
रक्तदान कार्यक्रममा सहभागी ७ जना सदस्यलाई सम्मान पत्र समेत प्रदान गरिएको सो कार्यक्रममा संगठनका प्रतिनिधि परीषद प्रमुख ठाकुर कुमार श्रेष्ठ, नेपाल ट्रेड युनियन माहासंघ जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, संगठन केन्द्रीय उपाध्यक्ष नबराज घिमिरे, बिष्णु लामा, महासचिव केशब थापा निरू लगायतका अतिथिहरूको उपस्थीती रहेको थियो ।
सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षारोपण आयोजनामा कार्यरत श्रमिकहरूलाई श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ अनुसारको सुविधाहरू माग सम्बन्धमा ६११ औ बैठकबाट गठित
उप समितिले बुझाएको सुझावहरू कार्यान्वयन गर्न भाद्र ६ गते बसेको ६१२ औँ बैठकले निर्णय गरेको छ ।
कार्यान्वयकालागी निर्णय भए अनुसार परियोजनामा कार्यरत दैनिक ज्यालादारी चौकिदारहरूको हकमा श्रम ऐन, २०७४ जारी भएको मिति (२०७४/०५/१९) लाई आधारमानी श्रम सम्झौता भएको मान्ने उल्लेख भएको छ ।
त्यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्यको लागि योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ र सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ लाई आधार मानेर २०८१ भदौ महिना देखि लागू हुनेगरी प्रक्रिया अगाडि बढाउने र अवकाशको सम्बन्धमा जति वर्ष काम गरेको हो प्रत्येक वर्षको लागि १ (एक) महिना बराबरको ज्याला उपलब्ध गराउने र १ महिना बराबरको (आधारभूत पारिश्रमिक) चाडबाड खर्च बापत वर्षको एक पटक उपलब्ध गराउने निर्णय भएको हो ।
त्यसैगरी नयाँ आउने दैनिक ज्यालादारी चौकिदारहरूको हकमा नयाँ नियुक्ति भएका दैनिक ज्यालादारी चौकिदारहरूलाई श्रम ऐन, २०७४ को दफा १०को उप- दफा १ को खण्ड (ग) अनुसारको "समयगत रोजगारी" अनुसारको काममा लगाउने निर्णय भएको छ ।

स्मरण रहोस जिफन्ट सम्बद्ध युनियन नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल)ले २०७४ साल देखी श्रम कानुन कार्यान्वयनकालागि निरन्तर आन्दोलन गर्दै आइरहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिम प्रदेश कमिटीको अगुवा कार्यकर्ता भेला भदौ १२ गते कन्चनपुरमा अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न भयो ।
प्रदेश अध्यक्ष जित बहादुर मल्लको अध्यक्षतामा सम्पन्न सो बैठकमलाइ सम्बोधन गर्नु हुँदै जिफन्ट अध्यक्ष श्रेष्ठले जिफन्ट र आवध्द युनियनको संरचना बिच समन्वय भएमा मात्र संगठनले उपलब्धी हासिल गर्न सक्ने भन्नुहुँदै श्रम आन्दोलनमा भएका समस्याहरूलाई समाधान गर्न जिफन्ट र सम्बद्ध युनियनको एकता र निरन्तर आन्दोलनको खाँचो रहेको बताउनु भयो ।
भेलामा लामो समय देखी निरन्तर जिफन्टको विभिन्न संरचनामा रहि क्रियाशील रहँदै आउनु भएका केशव सिंह ऐरी कर्णबहादुर नेगी, विक्रम महता, गणेशनाथ योगी र कृष्णराज जोशीलाइ जिफन्ट सुदूरपश्चिम प्रदेश कमिटीको सम्मान गरेको थियो ।
सम्मान पत्र प्रदान गर्नु हुँदै जिफन्ट अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश कमिटीले अग्रजहरूलाइ सम्मान गरेकोमा धन्यवाद दिनु हुँदै जस्तो सुकै अप्ठेरोमा पनि व्यक्तिगत स्वार्थ भन्दा माथी उठी श्रम आन्दोलनलाइ अगाडी बढाउन निरन्तर क्रियाशील रहनु भएका सम्मानित सबैमा बधाई तथा शुभकामना दिनु हुँदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा जिफन्टले राखेको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश उपसचिव तथा जनसंगठन समन्वय संयोजक नरबहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य महेश पन्त अतिथि रहनुभएको सो कार्यक्रमको संचालन जिफन्ट सुदूरपश्चिम प्रेदश सचिव चन्द्र प्रकाश गैह्रे ले र स्वागत उपाध्यक्ष ठक्कर बिष्टले गर्नुभएको थियो।