ओम्स नेपाल गण्डकी प्रदेशले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल गण्डकी प्रदेशले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।

प्रदेश अध्यक्ष आह्वान सुबेदीको अध्यक्षतामा भाद्र १९ गते सम्पन्न गण्डकी प्रदेश कमिटीको बैठकले सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश अध्यक्ष रुद्र बहादुर खत्रीले ओम्स नेपाल जिफन्टमा सम्बद्ध युनियनहरू भन्दा कार्य प्रकृति फरक रहेको यस युनियनको भविष्य उज्वल रहेको बताउनु हुँदै जिफन्टको नीति तथा कार्यक्रमको बारेमा प्रस्ट्याउनु भएको थियो । 

त्यसैगरी बैठकमा ओम्स नेपालका वरिष्ठ उपाध्यक्ष बसन्तराज सिग्देल र महासचिव नवराज भुर्तेलले अभियानको सफलताको कामना गर्दै, गत भाद्र ८ गते बुटवलमा सम्पन्न प्रथम अधिवेशनले पारित युनियनको नीति तथा कार्यक्रमको बारेमा प्रकाश पार्नु हुँदै, बजार व्यवस्थापन तथा बिक्री क्षेत्रका श्रमिकहरूमा योगदानमा आधारित सामाजिक सुरक्षा  कार्यान्वयनका लागि एकजुट भएर लाग्न सदस्यहरूलाई आव्हान गर्नुभयो ।