नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आवद्ध समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) नारायणी आयल रिफाइनरीको चैत्र २५ गते बारा जिल्लाको परवानीपुरमा सम्पन्न १३ औं अधिवेशनले रामतप्सी साहको नेतृत्वमा ७ सदस्य कमिटी निर्वाचित गरेको छ ।
व्हिन केन्द्रीय अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यमा सप्पन्न उक्त अधिवेशनमा केन्द्रीय सचीव गीता भण्डारी, सदस्य मनोज चौधरी, प्रदेश सचीव प्रेम चौधरी, आयल्स रिफाइनरीका प्रसासनिक अधिकृत रुपलाप साह लगाएतले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सलिन हवारीको अध्यक्षतामा सम्पन्न सो अधिवेशनबाट निर्वाचित कमिटीलाइ ह्वीन केन्दीय सदस्य मनोज चौधरीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बुढानिलकण्ठ माईक्रोबस इकाई कमिटी,तारेभिर यातायात प्रा.लि. र बुढानिलकण्ठ यातायात प्रा.लि.को सयुक्त आयोजनामा चैत्र २३ गते चालक तथा सहचालकहरुलाई सडक सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले यातायात मजदुरहरुको हक हित र अधिकारकालागि यातायात श्रमिक एकजुट हुनु पर्नेमा जोड दिनु हुँदै २० बर्षे सवारी साधन र यातायात सम्बन्धी ऐनकाबारेमा प्रकाश पार्नु भएको थियो ।

ट्राफिक नियमको बारेमा ट्राफिक प्रहरी प्रभाग बुढानिलकण्ठका प्रमुख बिक्रम बिकले प्रशिक्षण दिनु भएको सो कार्यक्रममा संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापा लगायतका अतिथिहरूले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा डाईमण्ड स्कुल र संगठन बुढानिलकण्ठ माईक्रोबस इकाई कमिटी बिच संगठनका सदस्य स्वर्गिय अर्जुन बरालको छोरा सर्चन बराललाई माध्यमिक तह सम्म निःशुल्क अध्ययन र श्रीमती संगिता बराललाई समवेदना पत्र सहित नगद २५०००/- सहयोग हस्तान्तरण गरेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) भरतपुर महानगरपालिकाको चैत्र २३ गते सम्पन्न चौथो अधिवेशनले मिरा श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय महानगरपालिका कमिटी निर्वाचन गरेको छ ।
नाबुन सह–संयोजक अञ्जु गुरुङले अधिवेशन उद्धधाटन गर्नु हुँदै नाबुनको इतिहास र वर्तमान अवस्थाका बारेमा चर्चा गर्नुहुँदै योगदानमा आधारित सामाजिक सुरक्षाको महत्व र परिवर्तित श्रम संसारमा नयाँ नयाँ प्रविधिको प्रयोग र सौन्दर्यकर्मिहरुको दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
जिफन्ट चितवन जिल्ला समन्वय कमिटी अध्यक्ष पुस्करबाबु त्रिपाठी लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
चिया कफि श्रमिक युनियन नेपालले चैत्र २३ गते कालिका, हडिया र वैभव इकाईको संयुक्त भेला सम्पन्न भेला सम्पन्न गरेको छ ।
युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राई र महासचिव बिक्रम गिरि लगायतका नेताहरूको सहभागितामा सम्पन्न सो भेलालेले विद्यमान श्रमिकहरुका समस्या समाधानकालागि प्रतिष्ठान स्तरमा माग पत्र पेश गर्ने निर्णय गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) को पहलमा बेनी–दरबाङ सडक आयोजना अन्तर्गतका मजदुरको ज्याला दिन बिरुवा क्याराभान कन्स्ट्रक्सन सहमत भएको छ ।
ज्याला दिन आनाकानी गर्ने, मजदुरलाई धम्काउने, पुनः नाप जाँच जस्ता अनावश्यक बखेडा झिकेको ठेकेदार कम्पनीले ३ लाख रुपैयाँ मजदुरको खातामा जम्मा गरी बाँकी २० दिनभित्र बाँकी १० लाख ज्याला दिने चैत्र २१ गते जिल्ला प्रशासन कार्यालयमा लिखित सम्झौता भएको हो ।
जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, पूर्वाधार कार्यालयका प्रमुख ईन्जिनियर विष्णु पौडेल, क्युपेक केन्द्रीय सचिव एवम् महिला विभाग प्रमुख बलादेबी राई सहित मजदुरका अगुवाहरूको उपस्थिति भएको छलफलमा प्रजिअ ढकालले सहमति अनुसारको मजदुरको ज्याला तोकिएको समयमै फिर्ता नगरे कानुनी उपचारको अन्तिम विकल्प खोज्ने बताउनुभयो ।
क्याराभान कन्स्ट्रक्सनसँग सम्झौता गरी २०७९ मङ्सिर १५ गतेदेखि २०७९ चैत मसान्तसम्म काम गरेका मजदुरहरुले ज्याला नपाएको भन्दै चरणबद्ध आन्दोलन गरेका थिए । मङ्गला गाउँपालिका-२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ८ किलोमिटर सडक कालोपत्रे गर्न ठेकेदार कम्पनी र पुर्वाधार विकास कार्यालय म्याग्दी बिच २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सडक निर्माणमा समेत ढिलासुस्ती भइरहेको अवस्थामा पुरानो ज्याला नदिएपछि राजनीतिक दलले समेत मजदुरको समस्यामा प्रतिबद्धता जनाएका थिए ।
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध बैंक वित्तीय तथा सहकारी कर्मचारी युनियन (बाफ्स्यु)ले युनियन स्थापना भएको नवौं वर्ष पुरा गरी दशैं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चैत्र २० गते अनामनगर जिफन्ट स्कुलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनायो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले बाफ्स्युको दशौं स्थापना दिवसको शुभकामना दिनु हुँदै बैंक वित्तीय तथा सहकारी क्षेत्रहरूमा कार्यरत श्रमिक कर्मचारीहरुलाई सम्मानित र सृजनशील नागरिकको पहिचान सहित वित्तीय क्षेत्रमा क्रियाशील श्रम शक्तिलाई आफ्नो हक अधिकारबारे प्रशिक्षित र संगठित रुपमा परिचालित गर्ने उद्देश्य सहित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले २०७२ साल चैत्र २० गते यो युनियन स्थापना गरेको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले युनियनको स्थापना दिवस मनाइरहँदा आगामी दिनहरुमा अझै सशक्त र प्रभावकारी रुपमा आफ्नो सांगठनिक अभियानमा जुट्नुपर्नेमा जोड दिदैं विद्यमान अवस्थामा सामुहिक सौदाबाजीबाट प्राप्त उपलव्धीहरुलाई खोस्ने मात्र हैन वैंक वित्तीय क्षेत्रमा श्रम ऐन आकर्षित नहुने अदालतको फैसलाले संविधान प्रदत्त उचित श्रम अभ्यासको हक, उचित पारिश्रमिकको हक, योगदानमा आधारित सामाजिक सुरक्षाको हक, समानताको हक, ट्रेड युनियन गठन गर्ने र सामुहिक सौदाबाजी गर्न पाउने हकको उलंघन गर्ने कामको थालनी भएको र जस्को कारण श्रम संसारमा प्राप्त हक आधारित विषयको कार्यान्वयन गर्ने कुरामा समस्या सृजना भएको छ भने यस क्षेत्रमा ठुलो संख्यामा श्रमिकहरु आउटसोर्स र इन्टनको रुपमा काममा लगाइ श्रम शोषण गर्न प्रश्रय मिलेको बताउनु भयो ।
खोसिएका अधिकार र यस क्षेत्रमा भएका ठुला पद र साना पदमा भएको तलबको असमानता आउटसोर्स, तालिमेलाई तलब र वित्तीय संस्था मर्जरपछिको कर्मचारी समायोजन लगायतका यस क्षेत्रमा रहेका चुनौतीहरूलाइ सामना गर्न स्थापना दिवसले थप प्रेरणा मिल्ने विश्वास सहित खोसिएका अधिकार फिर्ता गर्न र यस क्षेत्रका लाखौं श्रमिक तथा कर्मचारीहरुको मर्यादित कामको आन्दोलनमा जिफन्ट सधैँ अग्रभागमा रहेर साथ सहयोग रहने प्रतिबद्धता जनाउँदै व्यक्त गर्नु भयो ।