नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन (नेस्वहोमयु)द्वारा “पर्यटन क्षेत्रमा सामाजिक सुरक्षा उचित वेतन र रोजगारीको रक्षा, “शत प्रतिशत सेवा शुल्क पुनःप्राप्ती श्रमिकको अधिकार” भन्ने विषयमा चैत्र २८ गते जिफण्टको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले मजदुरहरूको अधिकारका रुपमा स्थापित सेवा शुल्क बापतको पारिश्रमिक पाउने व्यवस्था कानुन मै स्थापित गर्न नेतृत्व र सरकारसँग वार्ता, आन्दोलन, संवाद र दबाबका कार्यक्रमहरू अगाडि बढाउनु पर्ने भन्नु हुँदै श्रमिकबाट सर्वोच्चको आदेश मार्फत छिनिएको उक्त सुविधा प्राप्तिका लागि जिफन्टले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

त्यसैगरी जिफन्टका महासचिव लक्ष्मण शर्माले हामीले कसरी अधिकार पायौँ र कसरी गुमायौँ समीक्षा गर्न आवश्यक छ भन्नु हुँदै अधिकार प्राप्तिका लागि मजबुत संगठन निर्माणमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा जिफन्ट बागमती प्रदेश कमिटी अध्यक्ष रामहरि नेपाल, नेस्वहोमयू अध्यक्ष लक्ष्मण तिवारी, युनिट्राभ अध्यक्ष सुमन पराजुलीले होटल श्रमिकहरुको अधिकार र रोजीरोटी कोभिडपछि कटौती हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुँदै कतिपय होटलहरुले नियमित प्रकृतिको काम भइरहँदा पनि करारमा धेरै कर्मचारी राख्ने र पुराना कर्मचारीलाई दिइएको काम घटाएर खुम्च्याउने काम गरेको बताउनु भएको थियो ।

थप फोटोकोलागि तलको लिंकमा क्लिक गर्नहोस् ।
https://www.facebook.com/media/set/?set=a.122147987738435116&type=3
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले चैत्र २६ र २७ गते सुनसरी जिल्लाको धरान, भानुचोक बसपार्कमा सडक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
बिहान र साँझको समयमा आयोजित यो संवाद कार्यक्रममा मजदुरहरूको गुनासोप्रति सम्बोधन गर्दै संगठनका अध्यक्ष भीमज्वाला राईले सार्वजनिक यातायात क्षेत्रको दीर्घकालीन संकटको मुख्य कारण स्थायी संरचनाको अभाव रहेको बताउनुभयो।
अध्यक्ष राईले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन, लगानीकर्ताको लगानीको संरक्षण, मजदुरहरूको पेशागत जीवनको समृद्धि र यात्रुहरूको सेवाको सुनिश्चितता नभएसम्म सुधार सम्भव नरहने धारणा व्यक्त गर्नु हुँदै वर्तमान संरचना परिवर्तन र कानुन संशोधनका लागि देशभरका मजदुरहरुलाई संगठित हुन आह्वान गर्नु भयो ।
सडक संवाद कार्यक्रममा ८१ जना यातायात मजदुरहरुलाई संगठनको सदस्यता समेत प्रदान गरिएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वास्थ्य स्वयंसेविका संघ (नेभा) ले स्वास्थ्य स्वयंसेविकाहरूको उचित सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका विषयमा चैत्र २६ गते नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष मागपत्र बुझाइएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको नेतृत्वमा नेभा अध्यक्ष गिता थिङ्ग लगायतका नेताहरूले बुझाएको सो माग पत्रमा स्वयंसेविकाहरूका मागलाई मन्त्रालयले आगामी बजेटमा समेट्न आग्रह समेत गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मागपत्र ग्रहण गर्दै विगतमा स्वयंसेविकाहरूले पाएका थप सेवा-सुविधाहरू आफै अर्थमन्त्री भएको बेलामा प्रदान गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि महिला स्वयंसेविकाहरूलाई थप उपलब्धि हुने गरी काम अघि बढाउने प्रतिबद्धता जनाउनु भएको जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले श्रमिक खबरलाई जानकारी दिनु भएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लुम्बिनी प्रदेशले साना तथा मझौला हलुका सवारी साधन (ट्याक्सी, भ्यान, कार) लाई लुम्बिनी प्रदेश भर सहज रूपमा सञ्चालन गर्न सकिने गरी रुट इजाजत (रोड प्रमिट) को व्यवस्था गर्न माग राखेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चैत्र २५ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भएको भेटमा संगठनले हाल रुट इजाजत दुई जिल्लामा मात्र सीमित भएकाले स्वरोजगारमा आश्रित मजदुरहरू समस्यामा परेको जनाउँदै प्रदेशभर साना तथा मझौला हलुका सवारी सञ्चालनको अनुमति दिनुपर्ने माग राखेको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्ता स्थानहरूबाट पर्यटक तथा सेवा ग्राहीलाई प्रदेशका विभिन्न जिल्लामा लैजान र ल्याउन सहज नहुँदा समस्या भइरहेको संगठनको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण पत्र ग्रहण गर्दै समस्या समाधानतर्फ सरकार गम्भीर हुने बताउनुभयो । उहाँले स्वरोजगारमा आधारित हलुका सवारी मजदुरको समस्या समाधानमा प्रदेश सरकारको ध्यान केन्द्रित हुने स्पष्ट पार्नुभयो ।
ट्याङकर चालक भोज बहादुर मल्लको उपचार सहयोगकोलागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धनगढी ट्याङकर इकाई कमिटीले चैत्र २६ गते नगद १ लाख ४७ हजार ८ सय रूपया संगठन सुदुरपस्चीम प्रदेश अध्यक्ष ललित चन्दद्वारा हस्तान्तरण गरेको छ ।
मल्ल गत चैत्र ११ गते कैलाली जिल्लाको गोदावरी नगरपालीका तेघरीमा मोटरसाईकल दुर्घटनामा पर्नु भएका थियो ।
त्यसैगरी संगठन ट्याङकर इकाई कमिटीले आन्तरिक कोषबाट १७० जना आफ्ना सदस्यलाइ रु १ लाख बरावरको दुर्घटना बिमा गरी सकेको छ भने धनगढी बसपार्कमा कार्यरत करिब २५० जना श्रमिकहरूको दुर्घटना बिमा गर्ने कार्य प्रारम्भ भई सकेको संगठन सुदुरपस्चीम प्रदेश अध्यक्ष ललित चन्दले श्रमिक खबरलाई जानकारी दिनु भएको छ ।
सागरनाथ वन विकास परियोजनामा कार्यरत कर्मचारी तथा दैनिक ज्यालादारी कर्मचारीहरूको गत ११ महिनाको तलब-भत्ता लगायतका रकमहरू तत्काल उपलब्ध हुनु पर्ने माग गर्दै, जिफण्ट आबद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) र नेपाल निजामती कर्मचारी संगठन, सागरनाथ वन विकास परियोजना कमिटीद्वारा, चैत्र २५ गते वन तथा वातावरण मन्त्रालय र समावेशी आयोगमा मागपत्र पेश गरेको छ ।

माग पत्रमा ११ महिना देखी परियोजनाका स्थायी, करार र दैनिक ज्यालाका १९ जना कर्मचारीहरुले तलब, भत्ता तथा चाडपर्व खर्चसमेत नपाएको र चार वर्ष अघि नै अवकास प्राप्त २० जना कर्मचारीहरूले उपदान सुविधा समेत नपाएको र वन संरक्षणको लागि गस्ती टोलीमा खटिएका वन संरक्षकहरूले न्यूनतम साधन र सामग्री बिना काम गर्न बाध्य भएकोले तत्काल सम्बोधन गर्न माग गरेको छ ।
