नेस्वहोमयु होटल पोखरा ग्राण्डको अध्यक्षमा यम प्रसाद शर्मा निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन ( नेस्वहोमयु ) होटल पोखरा ग्राण्ड इकाईको असार २८ गते सम्पन्न छैटौं अधिवेशनले यम प्रसाद शर्माको अध्यक्षतामा १४ सदस्यीय कमिटी गठन गरेको छ । 

अधिवेशनलाई सम्बोधन गर्दै युनियन केन्द्रीय अध्यक्ष लक्ष्मण तिवारीले होटल श्रमिकले पाउदै आएको १०% सेवा शुल्क पुन प्राप्ति र  योगदानमा आधारित सामाजिक सुरक्षाको पुर्ण कार्यान्वयनकालागि संगठित भएर लाग्नु पर्ने बताउनु भएको छ । 

अधिवेशनमा जिफण्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले राजनीतिक  परिवर्तन पश्चात् सरकारले ट्रेड युनियन अधिकारलाई संकुचन गर्दै संविधान  र कानुन प्रदत्त  श्रमिक अधिकार खोस्न खोजेको आरोप लगाउदै अधिकार रक्षाका लागि सबै श्रमिक  संगठित हुनुपर्ने बताउनु भयो ।