काठमाडौं
नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले लेवननमा पक्राउ गरिएकी रोजीमाया लिम्वूको विनाशर्त अविलम्व रिहाई गर्न लेवनन सरकारसँग आग्रह गरेको छ । अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको शुभकामना सहित जिफन्टको विदेश विभागद्धारा जारी विज्ञप्तीमा लिम्वूलाई अविलम्व रिहा गर्न आग्रह गरिएको हो ।
लिम्वूलाई लेवननमा गत हप्ता पक्राउ गरिएको छ । उनलाई रोजगारदाताद्धारा हिंसामा परेकी एक घरेलु कामदारको उद्धारमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको हो । सोही अभियोगमा पक्राउ परेकी सुजैन(सुशीला) रानालाई यसअघि नै पक्राउ गरी जवर्जस्ती नेपाल पठाइसकिएको छ ।
विज्ञप्तीमा बैदेशिक रोजगारमा रहेका नेपाली कामदारलाई मर्यादित कामको वातावरण बनाउन नेपाल सरकारसँग पनि आग्रह गरिएको छ । यसका लागि गन्तव्य मुलुकहरुसँग पारदर्शी ढंगको द्धिपक्षिय श्रम सम्झौता गर्न पनि माग गरिएको छ ।
जिफन्टले आप्रवासी कामदारलाई भेदभाव गर्ने गरिएको भन्दै स्थानीय कानूनद्धारा उनीहरुको संरक्षण गर्नुपर्ने माग गरेको छ । कामदारका लागि कम्तिमा न्यूनतम तलवको ग्यारेण्टी तथा सामाजिक सुरक्षा सहितको न्यूनतम सुविधा दिइनु पर्ने जिफन्टको माग रहेको छ ।
कुनै शुल्क नतिरी बैदेशिक रोजगारमा जान पाउनु कामदारको अधिकार भएको भन्दै विज्ञप्तीमा उनीहरुले आवश्यक पर्दा कुनै झण्झट विना कानूनी सहायता प्राप्त गर्ने अधिकार पाउनु पर्ने उल्लेख गरिएको छ । यसैगरी स्वदेश फर्किन चाहेको बखत विना कुनै रोकतोक फर्किन पाउनु पर्ने पनि विज्ञप्तीमा उल्लेख छ । यसैगरी कामदारलाई संगठित हुन पाउने अधिकार समेत दिइनु पर्ने जिफन्टको माग छ ।