नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले नेपालका उत्पादन, निर्माण, कृषि, स्वास्थ्य, सरसफाइ, कपडा तथा प्रशोधन उद्योगमा रासायनिक पदार्थको प्रयोग व्यापक बन्दै गएको भन्दै श्रमिकको सुरक्षा र स्वास्थ्यप्रति गम्भीर बन्नुपर्ने बताउनुभएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र युवा, श्रम तथा रोजगार मन्त्रालयको साझेदारीमा साउन २९ गते आयोजित नीतिगत संवादमा अध्यक्ष श्रेष्ठले श्रम ऐन, २०७४ मा व्यावसायिक सुरक्षा तथा स्वास्थ्यसम्बन्धी व्यवस्था भए पनि कार्यस्थलको वास्तविक अवस्था भने अझै चिन्ताजनक रहेको बताउनुभयो।
उहाँले खतरनाक रासायनिक पदार्थबाट हुने जोखिमबाट श्रमिकलाई जोगाउन प्रभावकारी रोकथाम, सुरक्षित कार्यस्थल अभ्यास तथा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।

सरकार, रोजगारदाता तथा ट्रेड युनियन, नागरिक समाज, प्राज्ञिक क्षेत्र, प्राविधिक विज्ञ तथा विकास साझेदारका प्रतिनिधिहरू सहभागी कार्यक्रममा अध्यक्ष श्रेष्ठले आईएलओका व्यावसायिक सुरक्षा तथा स्वास्थ्यसम्बन्धी महासन्धि नं. १५५ र १८७ तथा रसायनसम्बन्धी अभिसन्धिको मर्मअनुसार राष्ट्रिय नीति तथा कानुन परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, Global Framework on Chemicals (GFC) लाई नेपालको राष्ट्रिय प्राथमिकतामा समेट्नुपर्ने उहाँको भनाइ थियो।
अध्यक्ष श्रेष्ठले श्रम मन्त्रालयले कार्यस्थल निरीक्षण तथा अनुगमन प्रणालीलाई प्रविधिमैत्री र प्रभावकारी बनाउँदै सुरक्षा मापदण्ड पालना नगर्ने उद्योग तथा प्रतिष्ठानलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो।

“सुरक्षित श्रमिक नै समृद्ध उद्योग र सबल अर्थतन्त्रको जग हो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “जब कार्यस्थल सुरक्षित हुँदैन, तबसम्म उत्पादनको गुणस्तर र औद्योगिक शान्ति कायम हुन नसक्ने भन्नु हुंदै उहाँले कार्यक्रममा नीतिगत संवादबाट प्राप्त सुझाव र निष्कर्ष कागजमा मात्र सीमित नरही व्यवहारमा कार्यान्वयन हुने र स्पष्ट राष्ट्रिय कार्ययोजना निर्माण हुने विश्वास समेत व्यक्त गर्नुभयो।
