गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

जिफन्टले योगदानमा आधारित सामाजिक सुरक्षाको पाचौ दिवस देशभर मनाइयो

नेपाल ट्रेड यूनियन महासंघ– जिफन्टले योगदानमा आधारित सामाजिक सुरक्षाको पाचौ दिवस मंसिर ११ गते देशभर बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

जिफन्ट प्रदेश कमिटी–१ को बिराटनगरमा सम्पन्न कार्यक्रममा प्रदेश अध्यक्ष किशोर धमलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जिफन्टले चार वर्ष भित्र बिस लाख श्रमिकहरुलाई समाबेस गराउने लक्ष्य राखेको बताउदै कोषको बारेमा आ–आफ्नो ठाउमा प्रचार प्रसार गर्न आग्रह गर्नु भयो । 

 

अध्यक्ष धमलाले असगठित श्रमिकहरुलाइ स्थानीय तह मार्फत पन्जिकरण गरि श्रमिकको तथ्यांक राख्न र त्यही मार्फत योगदानमा आधारीत सामाजिक सुरक्षामा जोड्न समेत माग गर्नु हुंदै भर्खर सम्पन्न निर्वाचनमा नेकपा एमालेलाइ बिजय बनाउन चुनावी अभियानमा खट्नु भएका सबै साथीहरूलाइ धन्यवाद दिदै नेकपा एमालेबाट बिजय हुनु भएका सबैलाइ बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गर्नु भयो।  

जुगकाटेमयु प्रतिनिधि परिषद प्रमुख धर्मानन्द सन्जेलले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा क्युपेक नेपालले प्लम्बर सम्बन्धी सञ्चालन गरेको दक्षता अभिबृद्धी तालिममा सहभागी बिस जना श्रमिक साथीहरूलाइ प्रमाण पत्र बितरण गरिएको थियो । 

त्यसैगरी जिफन्ट त्रियुगा नगर कमिटिको आयोजनामा उदयपुरको गाइघाटमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य माया भण्डारीको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी उपाध्यक्ष शशी कुमार राईले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको अध्यक्षता जिफन्ट नगर कमिटी अध्यक्ष जस बहादुर तामाङले गर्नु भएको थियो ।

त्यसैगरी मधेश प्रदेश कमिटीको आयोजनामा सिमरा स्थीत जिफन्ट सभाकक्षमा कार्यक्रमको शुभारम्भ गर्दै जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष मन्जु थापामगरले योगदानमा आधारित सामाजिक सुरक्षा नेपाली श्रमिकहरुको भविष्यको लागि कोषे ढुङ्गा भएको भन्दैे सबै क्षेत्रका श्रमिकहरुलाई कोषमा आवद्ध गर्नु पर्नेमा जोड दिनु भयो । 

जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झाले कार्यक्रमको अध्यक्षता गर्दै योगदानमा आधारीत सामाजिक सुरक्षा कोषवाट श्रमिकहरुको जिवनयापनमा सहज बनाइ रहेकोले कोष श्रमिकको लागी संजिवनी बुट्टीको रुपमा सावित भएको बताउनु भयो । 

कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटीका सदस्य गिता भण्डारी, क्यूपेक नेपालका केन्दीय सदस्य शोभा खतिवडा ह्वीनका केन्दीय सदस्य मनोज चौधरी स्वस्थ्य तथा कर्मचारी ट्रेड यूनियन नेपालका केन्द्रीय सदस्य अम्बिका साह लगायतका अतिथीहरु सहभागि रहेको कार्यक्रमको संचालन

प्रदेश सचिब मुक्ति चौधरीले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रदेश कमिटी सदस्य शान्ती दासले गर्नु भएको थियो । 

हाम्रो भविष्य, सामाजिक सुरक्षा–सहकार्य, योगदान र सहभागिता भन्ने मुलनाराका साथ बागमती प्रदेशमा केन्द्रकृत रुपमा जिफन्ट केन्द्रीय कार्यालयको आयोजनामा सभागृहमा जिफन्ट संरक्षक बिष्णु रिमालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा योगदानमा आधारीत सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली, डब्लुएसएम नेपालका प्रतिनिधी ब्रेनो, बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा लगाएतले मन्तब्य राख्नु भएको थियो । 

बागमती प्रदेशकै चितवन जिल्लाको भरतपुरमा राष्ट्रिय सौन्दर्यकर्मि यूनियन नेपालको आयोजनामा दिप प्रज्वलन गरी शुभकामना आदान प्रदान गर्नुका साथै अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्ग बाल बालीकालाइ बिभिन्न सामंग्री बितरण तथा सर–सफाइ गरी सामाजिक सुरक्षा दिवस मनाइएको छ ।

त्यसैगरी जिफन्ट गण्डकी प्रदेश कमिटीको आयोजनामा पोखरा स्थीत जिफन्ट सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै जिफन्ट पुर्व उपाध्यक्ष मिना गुरुङ्गले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु भए देखी हाल सम्म औपचारिक क्षेत्रका करिब ३ लाख ३५ हजार ९ सय ४ श्रमिक सुचिकृत भएको जानकारी गराउदै जिफन्टले आषमी ४ वर्षमा २० लाख श्रमिकलाई योगदानान आधारित सामाजिक सुरक्षा योजनामा समेट्ने गरी अभियान संचालन गर्ने बताउनु भएको छ । 

कार्यक्रमको अध्यक्षता गर्दै प्रदेश कमिटी अध्यक्ष रुद्र बहादुर खत्रीले योगदानमा आधारीत सामाजिक सुरक्षा अनौपचारिक, स्वरोजगार र बैदेशीक रोजगारमा संलग्न श्रमिकहरुलाई पनि समेट्ने गरी कार्यान्वयन हुनु पर्नेमा जोड दिंदै, सामाजिक सुरक्षा बोर्डले पोखरामा पनि शाखा कार्यालय स्थापना गर्न लागेकोमा खुशी ब्यक्त गर्दै सामााजिक सुरक्षा प्रणली अन्तरगत  औषधी उपचार, मातृत्व सुरक्षा, वृद्ध अवस्था सुरक्षा, आश्रित परिवार सुरक्षा, बेरोजगार सहयता योजनाका लगायतका सुविधा प्राप्त गर्न सकिने बताउनु भयो । 

जिफन्ट गण्डकी प्रदेश कमिटी सचिब राजेन्द्र प्रसाद पौडेलले संचालन गर्नु भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननिय विद्या भट्टराई, माननिय दामोदर पौडेल “बैरागी” गण्डकी प्रदेश सभा सदस्यहरु माननिय भीमबहादुर कार्की र माननिय गणेश गुरुङ्ग र जिफन्ट गण्डकी प्रदेश कमिटी उपाध्यक्ष कमरेड लिला बहादुर कार्कीले मन्तव्य राख्नु भएको थियो । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर स्थीत जिफन्ट सभाकक्षमा राष्ट्रिय कमिटी सदस्य चन्द्रा कुमारी धामीको प्रमुख आतिथ्यतामा विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरुको उपस्थितीमा पांचौं सामाजिक सुरक्षा दिवस मनाएको छ ।

प्रदेश अध्यक्ष तेज प्रकाश जिसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अध्यक्ष जिसीले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक नेपालको संविधानले प्रत्याभूत गरेकाले श्रमिकहरु एकजुट भई सामाजिक सुरक्षा प्रणालीमा जोडिन अभियान नै थाल्नु पर्ने बताउनुभयो । 

सामाजिक सुरक्षा प्रणालीलाई धमिल्याउन खोज्ने र श्रमिकहरुबीच भ्रम पैदा गरी श्रमिकहरुको हकको विरुद्ध लाग्ने जो कोहीलाई खबरदारी गर्दै सबै श्रमका क्षेत्रमा कार्यान्वयन गराउन जिफन्ट सँधै कटिबद्ध रहेको बताउनु हुदै आगामी चार वर्ष भित्र २० लाख श्रमिकहरु सामाजिक सुरक्षा योजनामा समावेश गर्ने जिफन्टको राष्ट्रिय अभियानमा कर्णाली प्रदेशबाट प्रतिवद्ध भई सूचिकरणका लागि चेतनामूलक कार्यक्रम, प्रशिक्षण, परामर्शसहित कार्यक्रम अगाडी बढाउने बताउनु भयो । कार्यक्रम प्रदेश सचिव श्रीपाल सारु मगरले सञ्चालन गर्नुभएको थियो ।

त्यसैगरी नेपाल ट्रेड युनियन महासंघ जिफण्ट सुदुर पश्चिम प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रिय अनुशासन विभाग सदस्य दिपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यमा योगदानमा अधारीत सामाजिक सुरक्षाको पांचै स्थापना दिवस मनाइएको छ ।

जिफण्ट सुदुर पश्चिम अध्यक्ष जित बहादुर मल्लको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य यज्ञ दुङ्गानाको उपस्थीतीमा सम्पन्न उक्त कार्यक्रमको संचालन जिफण्ट सुदुरपस्चिम प्रदेश कमिटी सचिव चन्द्र प्रकाश गैह्रेले र उपसचिब शोभा रावलले स्वागत गर्नुभएको थियो ।

लैंगिक हिंसा विरुद्ध विश्व अभियानको सन्दर्भमा जिफन्टको आचार संहिता विषयक कार्यशाला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय महिला कमिटीको आयोजनामा सातै प्रदेशमा लैंगिक हिंसा विरुद्ध अभियान २०७९ को सन्दर्भमा जिफन्टको आचार संहिता विषयक कार्यशाला मंसिर १७ गते सम्पन्न भएको छ ।  

"महिला हिंसा विरुद्धका पहल कदमीहरुलाई एकतावद्ध गरौं" भन्ने नाराका साथ काठमाण्डौ स्थीत जिफन्ट नियमित ट्रेड यूनियन स्कुलमा राष्ट्रिय महिला कमिटी अध्यक्ष सीता लामाको अध्यक्षता र जिफन्ट केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।  

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले जिफन्टले जेण्डर समानताकालागी आचार संहिता निर्माणगरी लैङ्गिक हिंसा विरुद्ध अभियान संचालन गरीरहेको बताउदै जिफन्ट अचार सहिता समय सापेक्ष पुनरावलोकन गर्न लैंगिक हिंसा विरुद्धको विश्व अभियानको सन्दर्भ पारेर सातै प्रदेशमा कार्यशालाको आयोजना गरेको बताउनु भयो ।

 

उहाले समयको गत्ती संगै हिंसाको पनी स्वरूप फेरीन थालेको भन्नु हुंदै पिडितले मात्र होईन पिडकले पनि हिंसाकोबारे ज्ञान पाएमा मात्र हिंसा न्यूनीकरण हुने अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अर्को प्रसंगमा बोल्दै अध्यक्ष श्रेष्ठले चुनावी परिणाम अनुसार स्थिर सरकार बन्ने संभावना नरहेको र गठबन्धनको अस्थिर सरकार बनेमा नेपाली श्रम बजारमा झन ठूलो असर पर्ने संभावना रहेको बताउंदै त्यसमा सम्पुर्ण श्रमजीवीहरुलाई सचेत रहन आग्रह पनि गर्नुभएको छ ।

जिफन्ट राष्ट्रिय महिला कमिटी सचिब बिजया खड्काले संचालन गर्नु कार्यशालामा जिफन्ट उपाध्यक्षहरू बिदुर कार्की, सिता लामा र महासचिब लक्ष्मण शर्माले जिफन्टको निती तथा कार्यक्रमको बारेमा बताउनु भएको थियो ।

त्यसैगरी प्रदेश नं.१ को बिराटनगरमा, मधेस प्रदेशको सिमारामा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदुर पश्चिम प्रदेशको धनगढीमा जिफन्ट महिला कमिटीको अयोजनामा जिफन्टको आचार संहिता विषयक कार्यशाला सम्पन्न भयो ।

जिफन्ट राष्ट्रिय कमिटी, जिफन्ट सम्बद्ध यूनियनको केन्द्रीय पदाधिकारीहरु सहभागी रहनु भएको कार्यक्रममा सामाजिक संजालको दुरुपयोग मार्फत हुने महिला विरुद्धको हिंसा वर्तमान समयमा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको र आचार संहिता थपघट गर्नुपर्ने अन्य विषय, आचार संहितालाई प्रभावकारी कार्यान्वयनका उपायहरु, महिला नेतृत्व विकासको लागि कार्यकर्ता छनौट प्रक्रिया एवं विधानको व्यवस्था अनुसारको पदमा रहि सांगठनिक जिम्मेवारी पूरा गर्न घर, परिवार, समाज, कार्यथलो र युनियनमा भएको समस्या बारे आफ्ना सुझाबहरु प्रस्तुत गर्नुभएको थियो ।

अन्तररास्ट्रिय श्रम संगठनको १७ औं एसिया प्रसान्त क्षेत्रीय बैठक सम्पन्न

अन्तरराष्ट्रिय श्रम संगठन – आइएलओको १७ औं एसिया प्रसान्त क्षेत्रीय बैठक सिङ्गापुरमा ६–९ डिसेम्बरमा सम्पन्न भएको छ ।

सिंगापुरकी राष्ट्रपति हालिम याकोबले उद्घाटन गर्नुभएको उक्त बैठकमा नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को तर्फबाट अध्यक्ष बिनोद श्रेष्ठ, महासचिब लक्ष्मण शर्मा र नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जेटियुसिसि, एनटियूसि, अन्टुफका प्रतिनिधीहरूले भाग लिनु भएको थियो ।

 



आईएलओका महानिर्देशक गिल्बर्ट एफ होउंगबोले "Renewed Social Justice for a Human Centred Recovery" बिषयक पेश गर्नु भएको प्रतिवेदन माथी बिभिन्न देशका सरकार, श्रमीक तथा रोजगारदाताहरुको प्रतिनिधिहरुले आ-आफ्ना विचारहरु प्रस्तुत गर्नुभएको थियो । 

 



बैठकमा ब्यवसायजन्य स्वास्थ्य र सुरक्षा मैलिक अधिकारको कतारको उदाहरण बिषयमा कतार सरकारद्वारा आयोजित विशेष सत्रमा जिफण्टको तर्फबाट टिप्पणी गर्दै महासचिव लक्ष्मण शर्माले नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरिसकेको सन्दर्भमा कतार सरकार वा रोजगारदाताहरुले उक्त कार्यक्रममा योगदान गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

 



यसैबिच नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठ, महासचिव लक्ष्मण शर्माले, आइटियुसी महासचिब, आईएलओका महानिर्देशक र सिङ्गापुरको श्रममन्त्री संगको छुट्टा छुट्टै भेटमा विशेष छलफल समेत सम्पन्न भएको थियो ।

 

प्रवासी श्रमिकका लागि सामाजिक सुरक्षा सुनिश्चित गरः जिफन्ट

काठमाडौ, प्रवासी श्रमिकको सुनिश्चित भविष्यका लागि सामाजिक सुरक्षाको नारा सहित नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवस मनाएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि जिफन्टले सो दिवस मनाएको हो । 

दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षामा वैदेशिक रोजगारमा जाने श्रमिकलाई आवद्द गराउन आफ्नो महासंघले निरन्तर आवाज उठाउँदै आएको भन्दै अवको केहि समयभित्र त्यो लागु हुने अपेक्षा प्रकट गर्नुभयो । “वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सामाजिक सुरक्षा प्रणालीमा जोडिन सक्ने अवस्थालाई सहज बनाउनु पर्दछ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “जारी भएको कार्यविधिमा भएको कमजोरी हटाउँदै क्रमशः कार्यान्वयन गर्नु पर्दछ ।”

 

उहाँले सरकारलाई केवल सत्ताको मात्र चिन्ता भएको, श्रम र श्रमिकको बारेमा कुनै चिन्ता र चासो नभएको भन्दै अर्कातर्फ रोजगारदाता पनि श्रमिकलाई सिद्रा बनाउने ध्याउन्नमा रहेका कारण बर्षेनी ठूलो संख्यामा विदेशिन बाध्य भएको बताउनुभयो । उहाँले गठवन्धन सरकार बनेपछिको पहिलो वर्षमा नै वैदेशिक रोजगारीमा जाने श्रमिक संख्यामा ३ सय ७७ प्रतिशतले वृद्दि भएपनि विप्रेषण आप्रवाह सो अनुपातमा नबढ्नुले सरकार नै अनौपचारिक अर्थतन्त्रका पक्षमा रहेको देखिएको धारणा राख्नुभयो ।

जिफन्ट अध्यक्ष श्रेष्ठले प्रश्न गर्नुभयो, परमादेशी सरकार बनेपछि पैसा कहाँ हरायो ? नेपाली श्रमिकले विदेशमा कमाएको रकम अस्वभाविक रुपमा कम नेपाल आएको भन्दै उहाँले सरकारले यसको जवाफ दिनुपर्ने उहाँको भनाई थियो । गत आर्थिक वर्षमा वैदेशिक रोजगारमा जानेहरुको संख्यामा ३ सय ७७ प्रतिशत वृद्दि भएपनि नेपाल भित्रिने विप्रेषणमा केवल ४ दशमलव ८ प्रतिश मात्र वृद्दि भएको छ । तसर्थ जिफन्टले यसमा आशंका गर्ने ठाउँ रहेको जनाएको हो ।

कोभिड १९ को महामारी पछिको पहिलो वर्षमा ३ सय ७७ प्रतिशतले वैदेशिक रोजगारमा जाने श्रमिकको संख्यामा वृद्दि हुनुले नेपालमा युवा श्रमशक्ति पलायनको अवस्था डरलाग्दो चित्र प्रस्तुत गरेको जिफन्टले जनाएको छ । यो मुलुकका लागि अनिष्टको सूचक भएको समेत जिफन्टको भनाई छ ।

कार्यक्रममा बोल्दै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरि थापाले सामाजिक सुरक्षालाई गन्तव्य मुलुकमा रहेका रोजगारदाताहरुसँग पनि जोड्न जरुरी रहेको धारणा राख्नुभयो । उहाँले नेपालबाट जाने श्रमिकले काम गरेवापत गन्तव्य मुलुकका रोजगारदाताले सामाजिक सुरक्षा कोषमा योगदान गर्ने वातावरण निर्माणमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारलाई मर्यादित बनाउन जिफन्टले गर्दै आएको कामको प्रशंसा पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै माइग्रेण्ट ट्रेड यूनियन (एमटीयू), कोरियाका अध्यक्ष उदय राईले दक्षिण कोरियामा श्रम गर्न जाने प्रवासी श्रमिकहरु पनि शोषणमा पर्ने गरेको जानकारी दिनुभयो । उहाँले श्रमिकले रुचि अनुसार रोजगारदाता फेर्न नसक्ने, अत्यधिक घण्टा काम गर्न बाध्य हुने लगायतका समस्याहरु रहेको भन्दै कोरियाली भाषा परिक्षा उत्तिर्ण गरेपछि न्यून लागतमा जान पाउनु नै कोरियाको रोजगारीको आकर्षण भएको बताउनुभयो ।

जिफन्ट उपमहासचिब नरनाथ लुंइटेल संचालन गर्नु भएको उक्त कार्यक्रममा जिफन्टले निर्माण गरेको कतारमा प्रवासी श्रमिकहरुको चोटका कथाहरु नामक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

पत्रकार पनि श्रमजीवि वर्ग भएकाले जिफन्टसँग सहकार्य गरेर अघि बढ्न तयार

काठमाडौं, २१ पुस । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सञ्चारकर्मीसँग संवाद’ विषयक अन्तरक्रिया कार्यक्रम पुस २१ गते बानेश्वर स्थीत अल्फा हाउसमा आयोजना गरेको छ । सम्बाद कार्यक्रममा जिफन्ट स्थापना देखी आठों महाधिबवेशनको पुर्व सन्ध्या सम्म जिफन्टले श्रम संसारमा गरेका कामहरूको भिडियो प्रदर्शन गरेको थियो भने महाधिवेशनले चार वर्षकालागि तयार पारेको नीति तथा कार्यक्रमको बारेमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
 
तालिमेको रूपमा पर्यटन, विद्यालय, व्यापार व्यवसाय, यातायात सबैतिर श्रमिकहरूलाइ शोषण गर्ने नया तरीकाले बिकास भइरहेको बताउँदै उनले त्यसको समाधानका लागि जिफन्ट सक्रिय हुने बताएका हुन ।
 
 

अध्यक्ष श्रेष्ठले २० लाख श्रमिकलाई योगदानमा आधारीत सामाजिक सुरक्षामा आबद्ध गराउन अभियान सुरू गरिसकेको र हरेक पालिकामा श्रमिकहरूलाइ पञ्जिकरण गरी तीनिहरूको सुचिकरण गराउने अभियान जिफन्टले थालनी गर्ने बताउनु हुदै श्रमिकको मुद्दा सम्बोधनका लागि मिडियासँग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।

 

कार्यक्रममा नेकपा एमाले प्रचार विभागका सचिव गगन विष्टले श्रमिकको मुद्दा संवेदनशील रहेकाले त्यसमा मिडियाले साथ दिनुपर्ने बताए । प्रचार विभागले त्यसबारेमा मिहिन ढंगले काम गर्ने योजना बनाएको विष्टले जानकारी दिएका छन् ।

जिफन्टका उपाध्यक्ष जितेन्द्र श्रेष्ठले जिफन्टले सञ्चारकर्मीसँग श्रम संसारको बारेमा एक आपसमा संयुक्त सहकार्य कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा संवादको थालनी जिफन्टले सुरू गरेको बताउदै यस्लाइ निरन्तता दिनु पर्नेमा जोड दिनु भयो । उहाले पत्रकार पनि श्रमिक वर्ग भएकाले संचार क्षेत्रमा कार्यरत साथीहरू ट्रेड यूनियनसंग सहकार्य गरी अफ्नो अधिकारकालागी अगाडी बढ्न सक्ने बताउदै महासंघको निमन्त्रणामा सहभागी हुनु भएकोमा सबैलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

जिफन्टका प्रचार सचिव महेन्द्र श्रेष्ठले जिफन्टले श्रमिकको मुद्दामा लामो समयदेखि पैरवी र समस्या समाधानको नेतृत्वदायी भूमिका निर्वाह गरे पनि मिडियासँगको समन्वयको अभावमा विषयलाई स्थापित गर्न नसकिएको भन्नुहुंदै आगामी दिनमा श्रमिकको मुद्दा सम्बोधनमा मिडियाको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

 

कार्यक्रममा सञ्चारकर्मीहरूले जिफन्टले स्थापनाकालदेखि श्रमिकको मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको भए पनि मिडियासँगको सहकार्य र समन्वयको कमीले गर्दा जति सम्बोधनको काम हुनुपर्ने त्यति हुन नसकेको बताए ।

 

श्रमिकको मुद्दा र विषय हेर्ने पत्रकारको समूह बनाएर विट रिपोर्टिङका लागि संस्थाले काम गर्नुपर्ने पत्रकारहरूले सुझाव दिएका कार्यक्रममा पत्रकार स्वयम् पनि श्रमजीवि वर्ग भएकाले जिफन्टसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनीहरूको भनाइ थियो ।

जिफन्ट सहयोग समूह, मलेशियाको पाचौं अधिवेशन सम्पन्न

काठमाडौं, जिफन्ट सहयोग समूह (जिफन्ट सपोर्ट ग्रुप), मलेशियाको ५औ अधिवेशन सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन माघ ८ गते सम्पन्न भएको हो । 

सो अवसरमा जिफन्ट अध्यक्ष श्रेष्ठले जिफन्टको सीमापारीको कामका विषयमा जानकारी दिदै श्रमिकहरुको हकÞ र हितका विषयमा जिफन्ट सदैव सचेतनाका साथ लागि रहेको बताउनुभयो । उहाँले जिफन्टको लामो संघर्ष पाश्चात हालै नेपालले प्रवासी श्रमिकका लागि पनि सामाजिक सुरक्षा कार्यक्रममा सहभागि हुन पाउने व्यवस्था भएको भन्दै सो कार्यक्रममा आगामी वैशाख देखि सहभागि हुन सकिने जानकारी गराउनुभयो । उहाँले प्रवासबाट मताधिकारको विषयमा जिफन्टले प्रयास गरिरहेको भन्दै यसमा सवैको हातमालोको खाँचो रहेको औंल्याउनुभयो । 

 

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा कार्यरत श्रमिकहरुको पहिलो समन्वयकर्ताको रुपमा जिफन्ट सहयोग समुहले काम गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले दूतावासले सदैव जिफन्ट सहयोग समुहसँग नजिक रहेर काम गर्न चाहेको र नेपाली प्रवासी श्रमिकहरुका समस्याहरु समाधानका लागि सबैसँग हातेमालो गर्ने जानकारी दिनु भयो ।

कार्यक्रममा एमटुयुसीका अध्यक्ष जेएच मोहम्मदले जिफन्टको सराहना गर्दै आगामी दिनमा दुई यूनियनहरुबीचमा यस अगाडी नै गरिएको एमओयूलाई परिमार्जन गर्दै थप सहकार्य गर्न तत्पर रहेको जानकारी गराउनु भयो ।

जिफन्ट विदेश विभाग सचिव स्मृति लामाले छोटों समयमा पनि व्यवस्थित तयारीका साथ सम्मेलन सफल पार्न लाग्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै जिफन्ट सहयोग समुहका काम कर्तव्यका वारेमा प्रस्ट पार्नु भयो ।

अधिवेशनमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल, जिफन्ट विदेश विभाग सचिव स्मृति लामा लगायतले मन्तव्य राख्नु भएको थियो । अधिवेशन उद्घाटन समारोहमा मलेशियन ट्रेड युनियन कंग्रेसका अध्यक्ष एचजी मोहमद, खाध्य तथा पेयपदार्थ युनियन मलेशियाका अध्यक्ष माटकर बिन सिवाङ्ग, मलेसियन ट्रेड युनियन महासंघका उपमहासचिव मोहमद खाइरि बिन मान  सहभागि हुनुहुन्थ्यो । 

यसैगरी आप्रवासी श्रमिकको अधिकारका पक्षमा पैरवी गर्दै आएको गैरसरकारी संस्था एनएसआई मलेसियाकी निर्देशक एन, गैरसरकारी संस्था तानागानिता, मलेसियाका जोसेफ, पिएसएम पार्टीकी पूर्व महासचिव शिवरंजनी लगायत उपस्थित हुनुहुन्थ्यो । यसैगरी हेल्प मधेसी मलेसियाका पूर्व सल्लाहकार जयप्रकाश साह, नेपाली युवा एकता समुहका संयोजक सरोज साह पनि सहभागि हुनुहुन्थ्यो । कार्यक्रममा जिफन्ट मलेसियाका विभिन्न क्षेत्रीय कमिटीका प्रतिनिधिहरु, स्वयंसेवकहरु, सदस्यहरुको ठूलो सहभागिता थियो । 

कार्यक्रममा दोश्रो सत्र अधिवेशनको वन्द सत्र रहेको थियो । अधिवेशनको निर्वाचन तथा अध्यक्ष मण्डलमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ, जिफन्ट सचिव स्मृति लामा, वेदकुमार खतिवडा, प्रेम कुमार मगर, विवेक लिम्बु, हुकुम थापा र वेदप्रसाद आचार्य रहनु भएको थियो । अधिवेशनले निर्विरोध रुपमा जिफन्ट सहयोग समूह, मलेसियाको नयाँ कमिटी चयन गरेको छ । विवेक लिम्बुको अध्यक्षतामा नवनिर्वाचित केन्द्रिय कमिटीमा चारजना उपाध्यक्ष, तीनजना महिला सदस्य सहित ३१ ज्ना रहनु भएको छ । 

नवनिर्वाचित कमिटीलाई जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले निर्देशन सहित बधाई तथ शुभकामना दिनु भयो । यसैगरी नवनिर्वाचित कमिटीलाई संगठनको काम, कर्तब्य र जिम्मेवारीका वारेमा जिफन्ट विदेश विभाग सचिव स्मृति लामाले स्पष्ट पार्नुभएको थियो । 

वेदकुमार खतिवडाको स्वागत तथा प्रेम कुमार मगरको सभापतित्वमा सञ्चालित कार्यक्रममा मलेसियाका विभिन्न कम्पनीहरुमा कार्यरत १ सय ७० नेपाली श्रमिक प्रतिनिधि सहभागि हुनुहुन्थ्यो ।