नेपाली श्रमिक आन्दोलनप्रति बिडब्लुआइको ऐक्यबद्धता

नेपालमा स्वतन्त्र ट्रेड युनियन अधिकारमाथि लगाइएका प्रतिबन्ध र सामाजिक संवादका संयन्त्र कमजोर बनाउने सरकारी कदमप्रति अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनले आपत्ति जनाएको छ।

ब्राजिलको साओ पाउलोमा नोभेम्बर २० मा सम्पन्न बिल्डिङ एण्ड वुड वर्कर्स इन्टरनेसनल (बिडब्लुआइ) को छैटौँ विश्व महाधिवेशनले नेपालका ट्रेड युनियनहरूको अधिकार संरक्षण र नेपाली श्रमिक आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै प्रस्ताव नम्बर १६ सर्वसम्मतिले पारित गरेको छ।

नेपालका तर्फबाट जिफन्ट सचिव स्मृति लामाले प्रस्तुत गर्नुभएको ‘नेपालमा ट्रेड युनियन अधिकारको रक्षा र लोकतान्त्रिक सामाजिक संवादको पुनर्स्थापना’ शीर्षकको प्रस्ताव नेपालका सम्पूर्ण बिडब्लुआइ आबद्ध संगठनहरूको प्रतिनिधित्व गर्दै प्रस्तुत गरिएको थियो।

प्रस्तावमा नेपालमा ट्रेड युनियन अधिकारमाथि बढ्दो प्रतिबन्ध, लोकतान्त्रिक स्थान खुम्चिँदै गएको अवस्था तथा त्रिपक्षीय सामाजिक संवादका संयन्त्र कमजोर बनाइएको र श्रमिकलाई लोकतान्त्रिक प्रक्रियाबाट वञ्चित गरेर लोकतन्त्रको दाबी गर्न नसकिने प्रस्तावमा उल्लेख गरिएको छ।

महाधिवेशनबाट प्रस्ताव सर्वसम्मतिले पारित हुनु नेपाली श्रमिक तथा ट्रेड युनियन आन्दोलनप्रति अन्तर्राष्ट्रिय ट्रेड युनियन समुदायको समर्थन र ऐक्यबद्धताको महत्त्वपूर्ण अभिव्यक्ति भएको जिफन्ट सचिव लामाले बताउनुभएको छ।

यसैबीच, बिडब्लुआइको छैटौँ विश्व महाधिवेशनले पाओला कामिल्लीलाई महासचिवमा निर्वाचित गरेको छ। 

छैटौँ विश्व महाधिवेशनबाट निर्वाचित सबैमा जिफन्टले बधाइ तथा कार्काल सफलताको शुभकमना ब्यक्त गरेको छ ।