नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ, नेपाल (ओम्स नेपाल) को दोस्रो राष्ट्रिय अधिवेशन मंसिर ५ गते रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ।
अधिवेशनको उद्घाटन गर्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले बजार व्यवस्थापन तथा बिक्री क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भए पनि यस क्षेत्रमा कार्यरत श्रमिकको रोजगारी सुरक्षा, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र पेसागत मर्यादाले अपेक्षित प्राथमिकता पाउन नसकेको बताउनुभयो।
कम्पनीको बिक्री वृद्धि र व्यवसायको सफलतामा बिक्री कर्मचारीको श्रम, सीप र योगदान महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले यस क्षेत्रका श्रमिकको अधिकार स्थापित गर्न ओम्स नेपालजस्ता क्षेत्रगत संगठनको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।
अध्यक्ष श्रेष्ठले डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, ई–कमर्स र डिजिटल मार्केटिङका कारण बिक्री क्षेत्रको कार्यप्रकृति परिवर्तन भइरहेको भन्दै प्रविधिको प्रयोगले श्रमिकलाई विस्थापित गर्ने नभई उनीहरूको सीप, क्षमता र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।
मोबाइल र जीपीएसमार्फत हुने निरन्तर निगरानी, कार्यालय समयबाहिरको रिपोर्टिङ तथा डिजिटल माध्यमबाट सिर्जना हुने कार्यदबाब प्रति संगठन सचेत हुनुपर्ने उहाँको भनाइ थियो। साथै डिजिटल श्रम अधिकार, श्रमिकको गोपनीयता, सीप विकास र प्रविधिबाट उत्पन्न रोजगारीको जोखिमलाई संगठनले आफ्नो एजेन्डा बनाउनुपर्ने उहाँले बताउनुभयो।
जिफन्टको शक्ति यसका घटक संगठनको सबलतामा निर्भर रहने उल्लेख गर्दै उहाँले संगठनलाई सक्षम, आत्मनिर्भर र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो।
उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघ, उद्योग संघ तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधिहरूले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
अधिवेशनको पुरा फोटो हेर्नकालागि तलको लिंकमा क्लदिक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122212568336435116&type=3