नेपालको ट्रेड युनियन अधिकार रक्षामा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलन एकजुट
नेपाल सरकारले सार्वजनिक क्षेत्रमा ट्रेड युनियन अधिकार कमजोर पार्ने गरी अघि सारेका कदमप्रति अन्तर्राष्ट्रिय ट्रेड युनियन संगठनहरूले गम्भीर चिन्ता व्यक्त गर्दै नेपाली श्रमिक तथा ट्रेड युनियन आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया प्रशान्त क्षेत्रीय संगठन (ITUC-Asia Pacific), ग्लोबल युनियन (GUFs) तथा ट्रेड युनियन ऐक्यबद्धता सहयोग संस्थाहरू (TUSSOs) ले कार्तिक २ र ३ गते काठमाडौंमा सम्पन्न बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै नेपालका ट्रेड युनियनहरूको अधिकार संरक्षणका पक्षमा आवाज उठाएका हुन्।
कार्तिक २ र ३ गते जारी संयुक्त वक्तव्यमा प्रशासनिक सुधार, राजनीतिक तटस्थता र प्रशासनिक कार्यक्षमता अभिवृद्धिको नाममा स्वतन्त्र ट्रेड युनियनलाई कमजोर बनाउने, श्रमिकका मौलिक अधिकारमाथि प्रतिबन्ध लगाउने तथा स्थापित सामाजिक संवादका संयन्त्रलाई कमजोर पार्ने काम गर्न नहुने उल्लेख गरिएको छ।

संगठित हुने स्वतन्त्रता तथा सामूहिक सौदाबाजीको अधिकार श्रमिकका आधारभूत र अन्तर्राष्ट्रिय रूपमा मान्य अधिकार भएको स्पष्ट पार्दै सरकारले कुनै पनि अवस्थामा यी अधिकारको पूर्ण सम्मान र संरक्षण गर्नुपर्ने बताएका छन्।
नेपालको संविधानले श्रमिकलाई ट्रेड युनियन खोल्ने, त्यसमा आबद्ध हुने र सामूहिक सौदाबाजी गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै संयुक्त वक्तव्यमा नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धि नम्बर ९८ अर्थात् संगठन गर्ने अधिकार तथा सामूहिक सौदाबाजीसम्बन्धी महासन्धि अनुमोदन गरिसकेको उल्लेख गर्दै संयुक्त वक्तव्यमा संविधानले सुनिश्चित गरेका अधिकार र आईएलओ महासन्धिअन्तर्गतका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूर्ण रूपमा पालना गर्न, सार्वजनिक क्षेत्रका श्रमिकलाई कुनै हस्तक्षेप वा विभेदबिना स्वतन्त्र रूपमा ट्रेड युनियन खोल्न, आबद्ध हुन र सामूहिक सौदाबाजी गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।

श्रमिकको अधिकार र रोजगारीका सर्तहरू प्रभावित पार्ने सबै विषयमा प्रतिनिधिमूलक ट्रेड युनियनसँग अर्थपूर्ण तथा वास्तविक सामाजिक संवाद गर्नसमेत सरकारलाई आग्रह गरिएको छ।
अन्तर्राष्ट्रिय ट्रेड युनियन संगठनहरूले नेपाली ट्रेड युनियनहरूलाई श्रमिक अधिकारको रक्षा, स्वतन्त्र ट्रेड युनियन आन्दोलनको संरक्षण र सामाजिक न्यायको प्रवर्द्धनका लागि आपसी एकता, ऐक्यबद्धता र सहकार्य थप बलियो बनाउन आह्वान गरेका छन्।
वक्तव्यमा नेपालका ट्रेड युनियन आन्दोलनप्रति आफ्नो ऐक्यबद्धता निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै अन्तर्राष्ट्रिय श्रम मापदण्डको संरक्षण र नेपालमा लोकतान्त्रिक ट्रेड युनियन आन्दोलन सुदृढ बनाउन सम्बद्ध संगठन तथा समग्र ट्रेड युनियन आन्दोलनलाई आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गरिएको छ।