श्रम बजारमा लचकतासँगै सामाजिक सुरक्षा बलियो हुनुपर्छ : रिमाल

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का संरक्षक विष्णु रिमालले श्रम बजारमा लचकता आवश्यक भए पनि त्यससँगै श्रमिकको रोजगारी सुरक्षा र सामाजिक संरक्षण बलियो हुनुपर्ने बताउनुभएको छ।

श्रीलंकाको कोलम्बोमा सेप्टेम्बर ४ देखि आयोजित दक्षिण एसियाली श्रम कानुन सुधारसम्बन्धी क्षेत्रीय ट्रेड युनियनहरूको अनुभव आदानप्रदान कार्यक्रममा प्रस्तुति दिँदै रिमालले ट्रेड युनियन आन्दोलन लचकताको विरोधी नभएको, तर सुरक्षाविहीन लचकता स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो।

उहाँले श्रम बजारमा जति बढी लचकता ल्याइन्छ, त्यति नै बढी सामाजिक सुरक्षा आवश्यक हुने बताउनुभयो। श्रमिकमाथि रोजगारीको जोखिम बढाइन्छ भने त्यसको क्षतिपूर्तिका लागि राज्य र रोजगारदाताबाट बलियो सामाजिक संरक्षण सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपालको श्रम कानुन सुधारका क्रममा सामाजिक सुरक्षा, श्रम लचकता, रोजगारी अन्त्यसम्बन्धी नीति, लैंगिक समानता, श्रम प्रशासन, ट्रेड युनियन अधिकार तथा सामूहिक सौदाबाजी र अनौपचारिक श्रमलाई प्रमुख विषयका रूपमा अघि बढाइएको रिमालले बताउनुभयो।

नेपालमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, श्रम व्यवस्थाका महत्वपूर्ण आधार बनेको उल्लेख गर्दै उहाँले यी दुई कानुन एकअर्काका विकल्प नभई परिपूरक हुनुपर्ने धारणा राख्नुभयो।

रिमालले श्रमिकको व्यापक संरक्षणका लागि मर्यादित रोजगारी, बलियो सामूहिक सौदाबाजी र सार्वभौमिक सामाजिक सुरक्षा आवश्यक रहेको बताउनुभयो। उहाँले श्रमिक आन्दोलनका आधारभूत मूल्य समानता, सामाजिक न्याय र ऐक्यबद्धता रहेको उल्लेख गर्दै बदलिँदो प्रविधि र श्रम बजारसँगै ट्रेड युनियनहरू पनि अझ संगठित, रणनीतिक र एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।

श्रमिकका अधिकार एकपटक प्राप्त भएपछि स्थायी रूपमा सुरक्षित नहुने भन्दै संरक्षक रिमालले तिनको निरन्तर रक्षा, सुदृढीकरण र नवीकरण गर्नुपर्ने बताउनुभएको छ।

उहाँका अनुसार श्रमिक अधिकारको संरक्षण निरन्तर चलिरहने प्रक्रिया हो र बदलिँदो श्रम संसारमा ट्रेड युनियनको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ।
 

जिफन्ट संरक्षक बिष्णु रिमालको प्रस्तुती हेर्नकालागी तलको लिंकमा क्लीक गर्नु होला 

https://bishnurimal.substack.com/p/we-are-not-against-flexibility-we?r

दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश