ब्रोड पिकमा हिमपहिरोमा परेका नेपाली पर्वतारोहीहरूको सकुशल उद्धारका लागि नेपाल र पाकिस्तान सरकारसँग प्रभावकारी खोज तथा उद्धार अभियान सञ्चालन गर्न जिफन्टले साउन १५ गते प्रेश बिज्ञप्ती मार्फत अपिल गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (GEFONT) ले पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालको शिखर नजिक हिमपहिरोमा परी बेपत्ता भएका नेपाली पर्वतारोहीहरूको शीघ्र तथा सकुशल खोजी–उद्धार गर्न नेपाल सरकार, पाकिस्तान सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
जिफन्टले जारी गरेको अपिलमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल “निम्स” पुर्जा लगायत अनुभवी नेपाली पर्वतारोहीहरू बेपत्ता भएको घटनाले आफूहरू स्तब्ध तथा अत्यन्त मर्माहित भएको जनाएको छ। साथै, बेपत्ता पर्वतारोहीहरूका परिवारजन, आफन्त तथा सम्पूर्ण पर्वतारोहण श्रमिक समुदायप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गर्दै उहाँहरूको सकुशल उद्धारको कामना गरेको छ।
बेपत्ता पर्वतारोहीहरूमा पुर बहादुर गुरुङ “युक्त”, किली पेम्बा शेर्पा “किलु”, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा निर्मल पुर्जा “निम्स दाइ” रहेका छन्।
जिफन्टले खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा अघि बढाउन, आवश्यक सबै स्रोत–साधन तत्काल परिचालन गर्न तथा सम्बन्धित निकायबीचको समन्वयलाई अझ सुदृढ बनाउन आग्रह गरेको छ।
जिफन्टले नेपाली पर्वतारोहीहरूले विश्व पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदान राष्ट्रको गौरव भएकोले उनीहरूको सुरक्षा, सम्मान र संरक्षण सुनिश्चित गर्नु राज्य तथा सम्बन्धित सबै सरोकारवालाको साझा दायित्व भएको भन्दै बेपत्ता पर्वतारोहीहरूको सकुशल उद्धारको कामना गर्दै उहाँहरूका परिवारजन, पर्वतारोहण श्रमिक तथा सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता प्रकट गरेको छ।
