जिफन्टको राष्ट्रिय श्रम श्रोत केन्द्र अब डिजिटल रूपमा सञ्चालन हुने

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले २०४८ सालदेखि सञ्चालन गर्दै आएको राष्ट्रिय श्रम श्रोत केन्द्रलाई आधुनिक अनलाइन श्रोत केन्द्रका रूपमा विकास गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ।

जिफन्टका अनुसार श्रोत केन्द्रमा रहेका सबै पुस्तक तथा अध्ययन सामग्रीलाई डिजिटल माध्यममा रूपान्तरण गरी अनलाइनबाट उपलब्ध गराइनेछ। यसबाट सदस्य, अनुसन्धानकर्ता तथा अन्य पाठकहरूले इन्टरनेटमार्फत अध्ययन सामग्री सहज रूपमा पहुँच गर्न सक्नेछन्।

त्यसैगरी, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), ग्लोबल युनियनहरू तथा अन्य अन्तर्राष्ट्रिय अनलाइन पुस्तकालयहरूसँग समन्वय गरी डिजिटल उपकरणमार्फत अध्ययन गर्न सकिने व्यवस्था पनि मिलाइने जिफन्टले जनाएको छ।

अनामनगरस्थित जिफन्ट श्रोत केन्द्रको डिजिटलाइजेशनपछि श्रमिक, ट्रेड युनियनकर्मी, अनुसन्धानकर्ता तथा आम पाठकले अध्ययन सामग्रीमा सहज, छरितो र प्रविधिमैत्री पहुँच प्राप्त गर्ने अपेक्षा जिफन्टले गरेको छ।