आर्थिक सामाजिक सम्पदा र मर्यादा जिफन्टको एउटा मात्र अभिष्टः अध्यक्ष विनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले श्रमिकहरुको आर्थिक सामाजिक सम्पदा र मर्यादा जिफन्टको एउटा मात्र अभिष्ट भएको बताउनु भएको छ। 

अध्यक्ष श्रेष्ठले सो कुरा जिफन्ट आवध्द निर्माण श्रमिकहरुको युनियन नेपाल बिजुली, पेण्टर प्लम्बर तथा निर्माण मजदुर यूनियन क्युपेक नेपालको २८औं स्थापना दिवसको उपलक्ष्यमा जेठ १८ गते बुटवलमा आयोजित राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा बताउनु भएको हो। 

क्यूपेक अध्यक्ष शान्ता बस्नेतको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अध्यक्ष श्रेष्ठले बदलिँदो श्रम बजारमा आएका परिवर्तनहरुलाई आत्मसात गर्दै युनियनका नीति तथा रणनीतिहरु पनि बदलेर हरदम सशक्त र प्रभावकारी रहन परिषद सदस्यहरूलाइ निर्देशन गर्नुहुदै अबको नेपाली श्रम आन्दोलनले विगतमा श्रमिकहरुको बलिदानीपूर्ण योगदानहरुले प्राप्त राजनीतिक परिवर्तन, संविधानमा मौलिक हकको रुपमा व्यवस्थित गरिएका श्रमिकका अधिकारहरु तथा श्रम कानुनहरुको पालना गर्ने गराउने दिशामा अघि बढ्नु जरुरी रहेको बताउनु भयो । 

अध्यक्ष श्रेष्ठले सम्पूर्ण श्रमिकहरुले भेदभाव बिना पाउनुपर्ने योगदानमा आधारित सामाजिक सुरक्षामा आफ्नो योगदान गर्दै र रोजगारदाता तथा सरकारको सहयोगदानको लागि डटेर अघि बढ्ने अभियानमा सबै कृयाशिल रहन आव्हान गर्नुभयो। 

समारोहमा जिफन्ट महासचिब लक्ष्मण शर्मा लगाएतका अतिथीहरूले श्रम अन्दोलनका बारेमा प्रकाश पार्नु भएको थियो ।

करीव १५० जना परिषद सदस्य सहभागी रहेको परिषद बैठक जेठ १८ र १९ गते दुर्इ दिन संचालन भएको थियो ।