नेस्वहोमयु होटल पोखरा ग्राण्डको विशेष अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)सँग आवद्ध नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु) होटल पोखरा ग्राण्डको माघ २३ गते सम्पन्न विशेष अधिवेशनले यमप्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

नेस्वहोमयुका केन्द्रीय अध्यक्ष तिवारीले पर्यटन क्षेत्रमा क्रियाशील युनियन होटलको एकमात्र आधिकारिक ट्रेड युनियन भएको बताउनु हुंदै युनियन सामूहिक र संस्थागत रुपमा चल्ने जीवन्त संस्था भएकोले कुनै व्यक्तिको लहडमा युनियन नचल्ने बताउनु भयो ।

अध्यक्ष तिवारीले युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका पोखरा ग्रान्डका अध्यक्ष मनमोहन गायकलाइ युनियन बिरोधि गतिबिधीमा संलग्न भएको कारण साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको बताउनु भयो । 

जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले सीमित व्यक्ति पलायन हुँदैमा निरन्तर र जीवन्त चल्ने युनियनलाई असर नपर्ने भन्दै एकताबद्ध, संगठित र संयमित भएर श्रमिकको हक हितमा निरन्तर रुपमा काम गर्नु पर्नेमा जोड दिनु भयो । 

नेस्वहोमयुका केन्द्रीय सचिव बद्रीकुमार भण्डारीले विगत १८ वर्षदेखि एकछत्र रुपमा आधिकारिक ट्रेड यूनियनको रुपमा स्थापित नेस्वहोमयू श्रमिकका सबै समस्या हल गर्ने क्रियाशिल रहेको बताए ।

विशेष अधिवेशनको उद्घाटन समारोहमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य पम्फा पहारी, जिफन्ट प्रदेश कमिटी सदस्य बद्रिनाथ सुवेदी, नेस्वहोमयुका केन्द्रीय सदस्य केशवप्रसाद सापकोटा, यूनियन होटल पोखरा ग्रान्डका उपाध्यक्ष नीता मैनाली, सचिव रामचन्द्र आचार्य लगायतले पर्यटन क्षेत्रका श्रमिकका बारेमा मन्तब्य राख्नु भएको थियो ।