नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध राईडर्स युनियन नेपाल (रन) को तेस्रो स्थापना दिवसको सन्दर्भमा साउन २२ गते जिफन्ट सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै प्रविधिको तीव्र विकाससँगै डिजिटल प्लेटफर्ममा आबद्ध श्रमिकहरूलाई संगठित गर्दै नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अध्यक्ष श्रेष्ठले राइड सेयरिङ, फुड डेलिभरी, अनलाइन सेवा, फ्रिलाईन्सर, ई–कमर्स, लगायतका क्षेत्रमा कार्यरत श्रमिकलाई डिजिटल माध्यम मार्फत संगठित गर्ने अभियानलाई बिस्तार गर्नु पर्ने बताउनु हुंदै गत जुनमा सम्पन्न ११४औँ अन्तरर्राष्ट्रिय श्रम सम्मेलनबाट प्लेटफर्म अर्थतन्त्रमा हुने काम सम्बन्धी अन्तर्राष्ट्रिय श्रम मापदण्ड तय गर्ने ऐतिहासिक निर्णय गरेको बताउदै अब नेपालमा प्लेटफर्म श्रमिकहरूकालागी कानुन निर्माणकालागी दवाब सिर्जना गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा राईडर्स युनियन नेपालका केन्द्रीय अध्यक्ष माधव पाण्डेले संगठनको इतिहास छोटो भए पनि श्रमिक वर्गबीचको एकता र सहकार्यले संगठन विस्तार, सुदृढीकरण र श्रमिक अधिकारको संरक्षणका लागि अझ सशक्त रूपमा अघि बढ्ने होसल्ला मिलेको बताउनु भयो ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट शुभकामना मन्तव्य राख्नुभएको थियो ।
राईडर्स युनियन नेपालका उपाध्यक्ष वंशी भट्टराईले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव सुदीप विकले गर्नु भएको थियो ।