रूपान्तरण: श्रमशक्तिको विकासबाट (नेपाली) नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) नीतिगत प्रतिवेदन छैटौं राष्ट्रिय महाधिवेशनबाट पारित (१४–१७ चैत २०७०) “क्रान्ति”ले रूपान्तरण गर्ने क्षेत्रको हिसाबले यसलाई हामी ‘राजनीतिक’ र ‘सामाजिक’ गरी दुई भागमा विभक्त गर्न सक्छौँ । राजनीतिक तहको क्रान्तिहुनु भनेको, हाम्रो राजनीतिमा रूपान्तरण गर्नु हो; जस्तो कि नेपालमा युगौँ पुरानो सामन्ती राजतन्त्र फ्याँकेर हामीले गणतन्त्र घोषणा गरयौँ । ‘गणतन्त्र नेपाल’ हाम्रो ‘लालीगुराँस–क्रान्ति”ले गरेको राजनीतिक क्षेत्रको रूपान्तरण हो । सामाजिक क्रान्तिको अर्थ, समाजको रूपान्तरण हो, जसको हामी अझै प्रवेशद्वारमा छौँ । सामाजिक रूपान्तरणले नै वर्ग र सामाजिक समूहबिच नयाँ उत्पादन सम्बन्ध र नयाँ सामाजिक सम्बन्ध स्थापित गर्दछ । यदि हामीले अँगालेको सिद्धान्तले व्याख्या गरे झैँ क्रान्तिका तीन चरणहरु– ‘सामन्तवादको आधार भत्काउने, पुँजीको विकास गर्ने र, समाजवादमा संक्रमण गर्नेलाई आत्मसात गर्ने हो भने यतिखेर हामी दोस्रो चरणको पुँजीको विकास गर्ने प्रवेशद्वार मै छौँ । त्यसो भए, रूपान्तरण कसरी गर्ने होला? जवाफमा ‘श्रमशक्तिको विकासबाट’ भन्ने निचोडमा हामी पुगेका छौँ । तसर्थ, यो छैटौँ राष्ट्रिय महाधिवेशनको थेम, रूपान्तरणः श्रमशक्तिको विकासबाट तय गरेका हौँ ।