मलेसियामा न्यूनतम तलब नदिने ६ सय ३७ कम्पनी कारबाहीमा

मलेसियामा न्यूनतम ज्याला र उचित बासस्थान नपाएको उजुरी गर्ने ११ नेपाली कामदारले न्याय पाएका छन् । 

मलेसियाको श्रम विभागले गत वर्ष आफ्ना कामदारहरूको कल्याण र आधारभूत आवश्यकताहरूको सुरक्षा प्रदान नगर्ने ६ सय ३७ रोजगारदाता कम्पनीलाई करीव ४० लाख रिंगेट क्षतिपूर्ति तिराएको हो । 

मलेसियाले देशभर एकैसाथ गरेको अपरेसनमा सेक्युरिटी गार्ड सप्लाईका ३५ कम्पनीहरूको निरीक्षण गरेको थियो । 

अपरेसन क्रममा ११ नेपाली कामदार बस्ने राजधानी क्वालालम्पुरमा रहेको प्लाजा महकोटाको एक इकाई पनि निरीक्षण गर्दा रोजगारदाताले नेपाली कामदारहरूलाई न्यूनतम ज्यालासहित कानुनद्वारा तोकिएबमोजिम आधारभूत सुविधा नदिएको पाइएको थियो ।

मलेसियामा गत फेब्रुअरी १ देखि न्यूनतम ज्याला १५ सय रिंगेट लागू गरेको हो तर कतिपय नेपाली सेक्युरिटी गार्डहरूले न्यूनतम तलब नपाएको र बैंक खातामा तलब जम्मा नगरिदिने गरेको गुनासो नेपाली राजदूतावाससमक्ष गर्दै आएका छन् । 

नेपाली दूतावासले न्यूनतम तलब नदिने कम्पनीको डिमान्ड प्रमाणीकरण नगर्ने नीति लिएको दूतावासले बताएको छ ।