नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोही बिच अन्तरकृया सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा यूनिट्राभ अध्यक्ष सुमन पराजुली लगाएतका आरोहीहरू र अध्यक्ष ओली बिच असार ६ गते नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा पर्वारोहण सम्बन्धमा अन्तरकृया हुनका साथै अध्यक्ष ओलीले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल छ पटक आरोहण गर्ने मिङ्मा डेभिड शेर्पा, एकै सिजनमा तीन पटक सगरमाथाको सफल आरोहण गर्नुभएकी पूर्णिमा श्रेष्ठ लगायत पर्वतारोहीहरूलाई खादा लगाई सम्मान समेत गर्नु भएको थियो ।
सो अवसरमा पर्वतारोहीहरूले प्राप्त गरेको सफलताका लागि बधाई दिनुहुँदै अध्यक्ष ओलीले पर्वतारोहण जोखिमपूर्ण र गाह्रो काम भएकाले अफ्ठ्यारो परिस्थिति र प्रतिकूल मौसममा यस काममा जिद्दी गर्न नहुने बताउनुभयो । उहाँले पर्वतारोहीहरूलाई अनुकूल मौसममा पुनः आरोहण गर्न सकिने कुरालाई ध्यानमा राख्न आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गर्ने फ्रेन्च नागरिक मौरिस हर्जोगलाई भेटेर सम्मान गर्न आफू पेरिस गएको स्मरण गर्दै पर्वतारोहीप्रति आफ्नो सम्मान र माया रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।