हायात रिजेन्सी होटल बन्द गर्न कुनै ट्रेड युनियनले सहमती गरेको छैन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेस्वहोमयु हायात रिजेन्सी होटल प्रतिष्ठान स्तरको ट्रेड युनियन लगायत नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध प्रतिष्ठान स्तरको ट्रेड युनियनहरूले कार्तिक ९ गते संयुक्त बिज्ञप्ती जारीगरी होटल प्रशासनलाई तत्काल आफ्नो निर्णय फिर्ता लिई होटल सञ्चालनमा ल्याउन तथा सबै श्रमिकको रोजगारी सुरक्षित गर्न आग्रह गरेको छ । 

गत भाद्र २३ र २४ गते भएको आन्दोलनको क्रममा होटेलमा भएको तोडफोड र आगजनीका कारण होटेलको मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशिलता समेतलाइ मध्येनजर गर्दै प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनसँग छलफल भई सुचना जारी गरिएको भन्ने भ्रम पुर्ण सुचना जारी गरिएको प्रती प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनहरूको गम्भीर ध्यान आकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरेको छ ।

बिज्ञप्तीमा होटलमा क्रियाशिल कुनै पनि ट्रेड युनियनसँग होटल वन्द गर्ने सर्न्दभमा कुनै छलफल, सहमती तथा समर्थन नभएको भन्दै आन्दोलनका क्रममा भएको क्षति मर्मत संभार पश्चात होटल तुरुन्त सञ्चालन गर्न सकिने अवस्था रहेको समेत स्पष्ट गरेको छ। 

आन्दोलनको क्रममा हिल्टन होटल पूर्ण रूपमा क्षतिग्रस्त हुँदा समेत आफ्ना श्रमिकहरूलाई अन्य विदेशस्थित होटलहरूमा रोजगारी सिफ्ट गरेर सुरक्षित गरेको र भाटभटेनी सुपरमार्केटले क्षतिग्रस्त शाखाहरूमा कार्यरत श्रमिकहरूलाई निष्कासन नगरी संरक्षण गरेको उदाहरणहरू सकारात्मक र श्रमिक-मैत्री अभ्यास भएको भन्दै नेपाल सरकार र सम्बन्धित निकायहरूलाई घटनाको निष्पक्ष छानबिन गरी क्षति पुर्याउने पक्षमाथि आवश्यक कारबाही गर्न र श्रमिकहरूको रोजगारी सुरक्षित गर्न अनुरोध समेत गरेको छ ।