ट्रेड युनियनहरूले वीरगञ्ज उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण बुझायो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन), एनटियुसी अवद्ध  नेपाल कारखाना श्रमिक संघ र अन्टुफ अखिल नेपाल औद्योगिक मजदुर संघले वीरगञ्ज–पर्सा औद्योगिक क्षेत्रमा श्रमिक अधिकारको संरक्षण, श्रम कानुनको प्रभावकारी कार्यान्वयन तथा उद्योग–श्रमिक सम्बन्ध सुधार गर्न साउन ५ गते वीरगञ्ज उद्योग वाणिज्य संघलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छ ।

युनियनहरूले केही उद्योगहरूमा श्रमिकलाई ट्रेड युनियन गठन गर्न नदिने वातावरण सिर्जना गरिएको, युनियन गतिविधिमा संलग्न श्रमिकलाई रोजगारीबाट हटाउने तथा नियुक्तिपत्र नदिई काममा लगाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गरेका छन्। त्यस्तै, सामाजिक सुरक्षा कोषमा सूचीकृत नगराउने, सरकारले तोकेको न्यूनतम ज्याला लागू नगर्ने तथा श्रम कानुनको आधारभूत व्यवस्था कार्यान्वयन नगर्ने समस्या अझै कायम रहेको जनाइएको छ।

ध्यानाकर्षण पत्रमा हाल लागू गरिएको न्यूनतम ज्याला जीवनयापनका लागि समेत अपर्याप्त रहेको उल्लेख गर्दै सरकारले निर्धारण गरेको ज्याला तत्काल सबै उद्योगमा लागू गर्न माग गरिएको छ।  साथै, श्रमिकलाई नियमित रोजगारीको सुनिश्चितता, अनावश्यक आउटसोर्सिङ अन्त्य, समान प्रकृतिको काममा नियुक्तिपत्र प्रदान, सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता तथा कार्यस्थलमा व्यावसायिक सुरक्षा र स्वास्थ्य (ओएसएच) का मापदण्ड कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

युनियनहरूले महिला तथा समावेशी श्रमिकका अधिकार संरक्षण, कार्यस्थलमा यौन दुर्व्यवहारविरुद्ध प्रभावकारी संयन्त्र, मातृत्व–पितृत्व बिदाको कार्यान्वयन, नियमित सीप विकास तालिम तथा स्वचालनका कारण रोजगारी गुम्ने जोखिम न्यूनीकरणका लागि पुनःसीप कार्यक्रम सञ्चालन गर्न पनि माग गरेका छन् ।

समस्याको दीर्घकालीन समाधानका लागि उद्योग व्यवसायी र ट्रेड युनियनबीच नियमित संवाद संयन्त्र स्थापना गरी ३० दिनभित्र कार्ययोजना तयार गर्न, आवश्यकताअनुसार श्रम कार्यालयको सहभागिता सुनिश्चित गर्न तथा संयुक्त समितिमार्फत कार्यान्वयन अघि बढाउन पनि पत्रमा प्रस्ताव गरिएको छ।

पत्रमा समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष आनन्द थामी, नेपाल कारखाना श्रमिक संघका अध्यक्ष अमृतलाल जोशी र अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष बेनी तिमिल्सिनाले हस्ताक्षर गरेका छन्।