नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गर्दै जिफन्टले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेको छ ।
जिफन्टले वर्तमान सरकारले गरिब, श्रमिक र सुकुम्वासीमाथि शृङ्खलाबद्ध रूपमा जनविरोधी र अमानवीय गतिविधि गरिरहेको भन्दै मुगुका गणेश नेपाली रोजगारीका लागि काठमाडौं आएर राइडरका रूपमा संघर्ष गरिरहेको अवस्थामा राज्य संयन्त्रबाट परेको दबाबका कारण आत्मदाहजस्तो कदम चाल्न बाध्य भएको दाबी गरिएको छ।
त्यसैगरी जिफन्ट आवद्ध राइडर्स युनियन नेपाल (रन) र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले असार २६ गते प्रेस विज्ञप्ति जारी गरी गणेश नेपालीको आत्मदाहलाई राज्यको दमनकारी र असंवेदनशील नीतिको परिणाम रहेको भन्दै नेपालीको आत्मदाहबाट भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।