अन्तर्राष्ट्रिय न्यायलयले हड्ताल अधिकारलाई मान्यता दियो, आईटियुसिद्वारा स्वागत

अन्तर्राष्ट्रिय न्याय अदालत  (आईसीजे) ले  हालै गरेको श्रमिकले हड्ताल गर्न पाउने  रायको अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ ( आईटियुसि ) ले स्वागत गर्दै हड्ताल गर्ने अधिकार आईएलओ महासन्धि नम्बर ८७ अन्तर्गत सुरक्षित रहेको पुष्टि भएको जनाएको छ ।

आईसीजेले मे २१ मा दिएको रायमा संगठन स्वतन्त्रता तथा संगठन गर्ने अधिकार संरक्षणसम्बन्धी आईएलओ महासन्धि अन्तर्गत श्रमिकलाई हड्ताल गर्ने अधिकार रहेको व्याख्या गरेको थियो । 

आईटीयूसीले अदालतको रायले दशकौँदेखि स्थापित अन्तर्राष्ट्रिय श्रम कानुनी अभ्यासलाई पुनः पुष्टि गरेको तथा अन्तर्राष्ट्रिय श्रम मापदण्ड प्रणालीमा कानुनी स्पष्टता र विश्वसनीयता पुनर्स्थापित गरेको भन्दै  हड्ताल गर्ने अधिकार संगठन स्वतन्त्रताको आधारभूत अंग भएकोले श्रमिकलाई आफ्नो हित रक्षा गर्न, सम्मानजनक काम सुनिश्चित गर्न तथा लोकतान्त्रिक समाज निर्माणमा योगदान गर्न सहयोग पुर्‍याउँने बताएको छ ।

आईटीयूसी महासचिव लुक ट्रङ्गलले परामर्शात्मक रायका लागि विश्व अदालतलाई धन्यवाद दिदैं अदालतले अन्तर्राष्ट्रिय कानुनले दशकौँदेखि ट्रेड युनियन र आईएलओ प्रणालीभित्र रहँदै आएको बुझाइलाई समर्थन गर्ने पुष्टि गरेको र यो निर्णय कानुनी स्पष्टता, सामाजिक न्याय तथा अन्तर्राष्ट्रिय श्रम मापदण्ड प्रणालीको विश्वसनीयताका लागि महत्वपूर्ण भएको उल्लेख गरेको छ ।

आईटीयूसीले अब यस निर्णयको कार्यान्वयन तथा थप प्रक्रिया आईएलओमार्फत अगाडि बढाउनुपर्ने बताउँदै सबै पक्षलाई संगठन स्वतन्त्रता, सामूहिक सौदाबाजी तथा सामाजिक संवादप्रति नयाँ प्रतिबद्धतासहित सहकार्य गर्न आह्वान समेत गरेको छ ।

यसैगरी युनि ग्लोबल युनियनका महासचिव क्रीस्टि होफम्यान, अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ ( आईटिएफ ) का महासचिव स्टेफेन कटन, पब्लिक इन्टरनेशनल सर्भिस ( पिएसआई ) का महासचिव ड्यानियल बर्टोसाले आज विश्वको सर्वोच्च अदालतले हड्ताल गर्ने अधिकार पुष्टि गरेको भन्दै विश्व अदालतलाई धन्यवाद दिएको छ ।