सहकार्य,सहअस्तित्वको लागि सार्थक संवाद आवश्यक छः अध्यक्ष बिनोद श्रेष्ठ

मर्यादित कामको लागि राष्ट्रिय कार्यक्रम (डि डब्लु सि पि) नेपालको स्टेरिङ कमिटिको बैठक बैसाख ३० गते ललितपुरमा सम्पन्न भयो। 

बैठकको शुभारम्भमा जेटियुसिसि तथा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ ले डि डब्लु सि पि को तयारी अवस्था देखी हालसम्म पनि श्रम आन्दोलनका मुद्दाहरु उस्तै रहेको बताउनु हुंदै श्रम नीति,श्रम कानुनहरु तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डहरुको कार्यान्वयनमा खाडल यथावत रहेको बताउनु भयो। 

त्यसैगरी सार्वजनिक क्षेत्रमा सामाजिक सुरक्षाको विस्तार,औपचारिकरण,ओएसएच र सामाजिक संवादलाई प्रभावकारी बनाउने कामहरु बाँकी नै रहेका भन्नु हुंदे अध्यक्ष श्रेष्ठले युवा रोजगारी, बसाईंसराई तथा लैगिक समानता जस्ता ३ वर्ष अघि पहिचान गरेका चुनौतिहरु सामना गरि नसक्दै मुलुकमा आएका राजनीतिक परिवर्तन र त्यसपछि आएको सरकारका गतिविधिहरु चुनौतिको रुपमा देखा परेको बताउनु भयो । 

संवैधानिक प्रावधान र अन्तरराष्ट्रिय श्रम मापदण्ड विपरित ट्रेड युनियन खारेज गर्ने, त्रिपक्षीयता अश्विकार गर्ने प्रकारका निर्णयहरुले  श्रम सम्बन्ध खलबलिन्छ, जसले मर्यादित कामका हाम्रा प्रयत्नहरु खेर  जानेछन्, यस्तो अवस्थामा ट्रेड युनियनहरुले स्वभाविक ढङ्गले प्रतिवाद गर्नुपर्छ, त्यसका लागि श्रम आन्दोलन तयार रहेको र त्यस्तो अवस्था आउनु अघि नै सहकार्य, सहअस्तित्वको लागि सार्थक संवाद आवश्यक रहेको जे टि यु सि सिको मान्यता रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा आइएलओका राष्ट्रिय निर्देशक नुमान ओजकान, नेपाल उधोग बाणिज्य संघका अध्यक्ष प्रवलजङ्ग पाण्डे र जिफन्ट उपाध्यक्ष सीता लामा, महासचिब लक्ष्मण शर्मा लगायत त्रीपक्षीय साझेदारहरुको उपस्थिति रहेको थियो।