नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले अन्तरर्राष्टिय श्रम संगठन (आइएलओ) महासन्धि नं. ९८ (सङ्गठन गर्ने र सामूहिक सौदाबाजी गर्ने अधिकार) र नेपालको संविधानको धारा ३४ र ३५ ट्रेड युनियन गठन गर्ने र सामूहिक सौदाबाजीमा संलग्न हुने अधिकारको ग्यारेन्टी गरेकोले निजामती सेवा तथा सार्वजनिक क्षेत्रमा ट्रेड युनियनहरूलाई खारेज वा प्रतिबन्ध गर्ने नेपाल सरकारको घोषणा अन्तर्राष्ट्रिय कानून र नेपालको आफ्नै संविधानको उल्लङ्घन भएको बताउनु भएको छ ।

नेपालमा ट्रेड युनियन आन्दोलन सम्बन्धी राष्ट्रिय परामर्श: चुनौतीहरू र आगामी बाटो बिषयमा चैत्र २९ गते पब्लिक सर्भिस इन्टरनेशनल (पिएसआइ) नेपाल कोडिनेशन कमिटिद्वारा आयोजित कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसीसीका अध्यक्ष समेत रहनु भएका श्रेष्ठले बताउनु भएको हो ।
अध्यक्ष श्रेष्ठले ट्रेड युनियन गठन गर्ने, सामेल हुने वा आबद्ध हुने विशेष रूपमा श्रमिकहरूको लोकतान्त्रिक अधिकार भएको र ट्रेड युनियनहरू राज्यका विरोधी नभइ तिनीहरू लोकतान्त्रिक शासनका एक अपरिहार्य स्तम्भ भएको हुनाले श्रम सम्बन्ध सुधारकालागि ट्रेड युनियनहरूसँग सामाजिक संवाद गर्नुपर्नेमा जोड दिनु हुंदै नेपाल सरकारले सार्वजनिक सेवाका श्रमिकहरूको प्रतिनिधित्व गर्ने ट्रेड युनियनहरूलाई प्रतिबन्ध लगाउने घोषणा तुरुन्त बिना शर्त फिर्ता लिन माग गरेको छ ।
अध्यक्ष श्रेष्ठले नेपाली श्रमिकहरूको मौलिक अधिकारको रक्षाकोलागि नेपालको ट्रेड युनियनहरू सधै अग्रस्थानमा रही आन्दोलन गर्दै आइरहेको भन्नु हुदै आगामी दिनमा पनि अधिकारको रक्षाकालागि आवश्यक कदम चाल्न पछि नपर्ने बताउनु भएको छ ।
सरकारी नीति तथा श्रम आन्दोलनमा यसको प्रभाव बारेमा कानुनी विज्ञ देब बहादुर महतले प्रकाश पार्नु भएको कार्यक्रममा राजेन्द्र प्रशाद दाहालले ग्लोबल युनियन फेडरेशनहरूले जारी गरेको संयुक्त ऐक्यबद्धता सन्देशको प्रस्तुति गर्नु भएको थियो ।

त्यसैगरी पेशागत महसंघ, नेपाल (कोनेप) का अध्यक्ष पुण्य प्रशाद ढकाल, अन्टुफ वरिष्ठ उपाध्यक्ष धन बहादुर बिक र एनटियुसी उपाध्यक्ष तेजेन्द्र प्रशाद कार्कीले सरकारको ट्रेड युनियन विरोधी निर्णय त्यसका सम्भावित प्रभावहरु र निर्णयको बिरूद्ध ट्रेड युनियनहरूको सामूहिक अभियानबारेमा प्रकाश पार्नु भएको थियो ।
पिएसआइ नेपाल कोडिनेशन कमिटि अध्यक्ष उत्तम प्रसाद कटुवालको अध्यक्षतामा भएको कार्यक्रमममा स्वागत मन्तब्य कोडिनेशन कमिटिका सचिब बसन्ती महर्जनले र कार्यक्रमको उद्धेश्यकाबारे राम प्रसाद पौडेलले प्रकाश पार्नु भएको थियो ।