जिफन्ट गण्डकी प्रदेशले मणीपाल शिक्षण अस्पतालमा ध्यानाकर्षणपत्र बुझाएयो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले बिगत केही दिन देखी पोखरा मणीपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरुले पारिश्रमिक बृद्धि लगायतका माग राखी गरेको आन्दोलनको सम्बन्धमा ब्यवस्थापकलाइ असोज २७ गते ध्यानाकर्षणपत्र बुझाएको छ । 

ध्यानाकर्षणपत्रमा नेपालको प्रचलित ऐन कानुन र नियम अनुसार पाउनुपर्ने सेवा सुविधाको माग नर्सिङ स्टाफहरुले गरीरहेको आन्दोलन प्रति जिफन्टको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, नेपाल सरकार र सरोकारवालाहरुको छलफल सवांद र सहमती बमोजिम प्रत्येक २, २ बर्षमा श्रमिकहरुको ज्याला बृद्धि हुने भएता पनि कार्यान्वयनमा समस्या देखिनु ऐन कानुनको बर्खिलाफ भएको जिफन्टले ठहर  गरेको छ । 

संवेदनशिल मानविय सेवामा समर्पित नर्सिङ स्टाफहरू बिरामीको सेवामा दिनरात भोक तिर्खा नभनी अहोरात्र खटिनु पर्ने तर कानुनले दिएको न्युनतम ज्याला समेत नपाउनु दुःखदायी रहेको भन्दै जिफन्टले नर्सिङ स्टाफलाई जिउन पुग्ने ज्याला उपलब्ध गराई असल औधोगिक सम्बन्ध कायम गर्न समेत माग गरेको छ ।

जिफन्टले आन्दोलनरत नर्सिङ कर्मचारीहरुका जायज मागहरु प्रति ऐक्यबद्धता जाहेर गर्दै वार्ता, संवाद र छलफलको माध्यमबाट यथासिघ्र दिर्घकालिन समस्या समाधानका लागि ब्यवस्थापकलाइ ध्यानाकर्षणपत्रमा बुझाएको जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रूद्र बहादुर खबीले जानकारी दिनु भएको हो ।