जेन–जी आन्दोलनका क्रममा भाद्र २३ र २४ गते अराजक समूहले गरेको आगजनी र तोडफोडका कारण भाटभटेनी सुपरमार्केट, होटल तथा पर्यटन क्षेत्र, चौधरी ग्रुप, केबलकार लगायत उधोगहरू तथा बैंक,शैक्षिक संस्था र अन्य व्यवसायमा कार्यरत श्रमिकहरूको रोजगारी प्रभावित भएको छ।
मुलुकभर भाटभटेनी सुपरमार्केटका २८ शाखामा करिब १० हजार कर्मचारी कार्यरत छन् । तीमध्ये आन्दोलनका क्रममा २१ वटामा क्षति पुगेका कारण करिब ५ हजार रोजगारी प्रभावित भएको अनुमान गरिएको भने होटल संघ नेपाल (हान) को तथ्यांकअनुसार करिब २५ होटलले आक्रमणबाट क्षति खेप्नुपरेको र दुई हजार भन्दा धेरै श्रमिकहरूको जागिर प्रभावित भएको हानको प्रारम्भिक आकलन रहेको छ।
त्यसैगरी सीजी होल्डिङ्स, सीजी इलेक्ट्रोनिक्स, सीजी अटोमोबाइल्स, केटीएम सीटीलगायत व्यावसायिक घरानामा कार्यरत करिब ५ हजार श्रमिकहरूको रोजगारी प्रभावित भएको छ।
काठमाडौंको चन्द्रागिरि र नवलपरासीको मौलाकालिका केबलकारमा तोडफोड हुँदा करिब ६ सय रोजागरी प्रभावित भएको छ ।
भाद्र २ ९गते सम्मको तथ्यांक अनुसार मुलुकभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ शाखा र एक्सटेन्सन काउन्टरमा भएको तोडफोड तथा आगजनीका कारण हजाराैंको रोजगारी प्रभावित भएको छ।
आन्दोलनका क्रममा मुलुकभर धेरै उद्योग व्यवसाय र व्यापारिक मलमा क्षति पुगेकाले प्रत्यक्ष रूपमा रोजगारी प्रभावित हुनेको संख्या अझै बढ्ने सरोकारवालाको भनाइ छ।
