चिया श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार ६९९ मा सहमती

नेपाल चिया उत्पादक सङ्घ र ट्रेड युनियनहरूबिच भाद्र १६ गते चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । 

सहमति अनुसार चिया श्रमिकले दैनिकतर्फ न्यूनतम रु पाँच सय ६५ पारिश्रमिक पाउने छन् भने मासिक तर्फ न्यूनतम रु १५ हजार ६९९ पाउने भएका छन् । 

यसअघि मजदुरले दैनिक पारिश्रमिकतर्फ रु पाँच सय र मासिक पारिश्रमिकतर्फ रु १३ हजार ८९३ पाउँदै आएका थिए । 

सहमति अनुसार दैनिक पारिश्रमिकतर्फ आधारभूत पारिश्रमिकमा रु ३९ र महँगी भत्तामा रु २६ वृद्धि भएको छ । मासिक पारिश्रमिकतर्फ आधारभूत पारिश्रमिकमा रु एक हजार १६२ र महँगी भत्तामा रु छ सय ४४ वृद्धि भएको छ ।  

जिफन्ट आवद्ध नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले जानकारी दिनु भए अनुसार दुइपक्षिय भएको सहमतीको आधारमा नेपाल सरकारको राजपत्रमा प्रकाशित गर्ने छ ।