नर्स अनिता थापालाई मेडिकल कलेजमै काम गर्न दिन श्रम अदालतद्वारा अन्तरकालीन आदेश जारी

लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेजद्वारा बदनियत पूर्वक सरुवा गरिएकी नर्स अनिता थापालाई मेडिकल कलेजमै काम गर्न दिन चैत्र २१ गते श्रम अदालतले अन्तरकालीन आदेश दिएको छ ।

विभिन्न माग राख्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि आन्दोलनलाई सघाएको बहना बनाएर व्यवस्थापकले नर्स अनिता थापालाई बदनियत पूर्वक २०८१ फागुन २६ गते बाँकेको चिसापानीमा सरुवा गरेको थियो । 

मेडिकल कलेजले आफ्नो सरुवा ट्रेड यूनियन ऐन २०४९ को दफा २३ क र श्रम ऐन २०७४ को दफा १०९ को विपरीत भएको भन्दै नर्स अनिता थापा श्रम अदालत पुगेकी थिइन् ।

त्यसपछि श्रम अदालत भक्तपुरमा माननीय जनक पाण्डेको अध्यक्षतामा बिहीबार बसेको माननीय सदस्य निशा बाँनिया, माननीय सदस्य शैलेन्द्र कुमार चौरसिया इजलासले लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका नाममा अन्तरकालीन आदेश जारी गरेको हो ।