साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक बढाउने गृहकार्य

आगामी साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन न्यूनतम पारिश्रमिक निर्धारण समितिले गृहकार्य सुरु गरेको चैत्र ८ गते श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्धारा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । 

पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अघिल्लो पटक वृद्धि गरिएको पारिश्रमिक अझै कतिपय प्रतिष्ठानमा कार्यान्वयन नभएको पाइएकाले त्यसको कार्यान्वयनका लागि सबै रोजगारदाता प्रतिष्ठानलाई जिम्मेवार बन्न आग्रह समेत गर्नुभयो

आगामी वर्षदेखि लागु हुने नयाँ पारिश्रमिक अहिलेको महँगीलगायत सबै कुरालाई ध्यानमा राखेर निर्धारण गरिने महानिर्देशक भट्टराईले जानकारी दिनुभएको छ ।

पत्रकार सम्मेलनमा मर्यादित श्रम सम्बन्ध एवं असल श्रम अभ्यासको सुनिश्चित गर्ने विषयमा अधिकांश रोजगारदाता प्रतिष्ठानले अझै धेरै काम गर्नुपर्ने बताउनु हुंदै महानिर्देशक भट्टराईले मर्यादित श्रमका लागि श्रमसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिको अनुमोदनका लागि कार्यायोजना बनाई प्रतिष्ठान र श्रमिकलाई अनौपचारीकरण गर्दै लैजानका लागि पूर्वतयारीका काम भएको पनि जानकारी दिनुभयो ।

दर्ता भएर सञ्चालन भएका रोजगारदाता प्रतिष्ठानलाई अब ऐनविपरीत सञ्चालन गर्न छुट नहुने र ती व्यवसायी प्रतिष्ठानलाई कानुन अनुसार कारबाही हुने उहाँको भनाइ छ ।

आन्तरिक रोजगारी प्रवर्धन एवं श्रम प्रशासनको सुदृढीकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने विषयमा विभागले काम अगाडि बढाएको पनि सोही पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा विभागले न्यूनतम पारिश्रमिकको कार्यान्वयन, सामाजिक सुरक्षा कोषमा सूचीकरण, बालश्रम एवं बाध्यकारी श्रमको निवारण, श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सुनिश्चितताका विषयमा पनि काम गरिरहेको जानकारी दिइयो ।