१६ बुँदे काठमाडौँ घोषणापत्र जारी गरी पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न

उत्पादन र उत्पादकत्वको बिस्तार आन्तरिक रोजगारीको दिगो आधार भन्ने मूल नाराका साथ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ काठमाण्डैमा फागुन २७ गते सम्पन्न भएको छ ।

सम्मेलनको दोस्रो दिनको प्लेनरी सत्रमा जिफन्ट उपाध्यक्ष सीता लामाले वैदेशिक रोजगारी बाध्यता हैन रहरको विषय बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

उपाध्यक्ष लामाले वैदेशिक रोजगारमा जाने श्रमिकहरू योगदानमा आधारीत सामाजिक सुरक्षामा राम्रो सङ्ख्यामा आबद्ध भएको भए पनि तिनीहरूलाई निरन्तरताकोलागि योजना बनाउनु पर्ने भन्नु हुदै वैदेशिक रोजगारबाट फर्केका श्रमिकहरूको विप्रेषण र सिपलाई उपयोग गर्न नीतिगत रूपमा ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ ।  

सम्मेलनले १६ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आन्तरिक रोजगार प्रवर्द्धन दशकका क्रियाकलाप, आगामी आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमा समावेश गरी कार्यान्वयन गर्दै लगिने जनाएको छ । 

घोषणापत्रमा सरकारी क्षेत्रको सहजीकरण र निजी क्षेत्रको नेतृत्वमा तुलनात्मक लाभका नवीनतम् एवं उदीयमान क्षेत्रहरूमा लगानी अभिवृद्धि गरी आन्तरिक रोजगारी प्रवर्द्धन गरिने, श्रम बजारको मागको आधारमा सिपयुक्त जनशक्ति तयार गर्नकोलागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निजी क्षेत्रका रोजगारदाताहरूसँग समन्वय एवं सहकार्य गरीने, औपचारिक तथा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै सामाजिक सुरक्षा सुनिश्चितता सहितको पेन्सनेवल समाजको निर्माण गरिने, सामाजिक सुरक्षा कोषको रकमलाई उच्च प्रतिफलयुक्त लगानीको माध्यमबाट राष्ट्रिय पुँजी निर्माण, विकास र परिचालन गरी श्रमिकहरूको कल्याण अभिवृद्धि गरिने उल्लेख छ ।

सम्मेलनले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूको सुदृढीकरण प्रविधिको अधिकतम प्रयोग गरी रोजगारदाता र श्रमिकका लागि साझा सूचना केन्द्रको रूपमा दिगो हुने गरी विकास गरिने जनाएको छ ।

घोषणापत्रमा श्रम आप्रवासनको व्यवस्थापन तथा पुनः एकीकरणका लागि 'श्रमिकबाट उद्यमी' बनाउन विशेष वित्तीय व्यवस्थापन परिचालनसमेत गरी राष्ट्रिय कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । 

वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सिपको प्रमाणीकरण गरी उनीहरूले आर्जन गरेको सीप, पुँजी र अनुभवलाई उत्पादनशील कार्यमा उपयोग गरी उद्यमशीलताको थप विस्तार गर्ने र प्रभावकारी श्रम कूटनीतिमार्फत वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जानुपर्ने अवस्थाको अन्त्य गर्न नीतिगत तथा कानुनी सुधार गरिने उल्लेख गरेको छ ।

थप फोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122143936580435116&type=3