नेपालगन्जको लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले फागुण २० गते निर्णय जारी गर्दै कुनै पनि कर्मचारीको सरुवा नगर्नु र केही कर्मचारीलाई गरेको सरुवा कार्यान्वयन नगर्न नगराउन मेडिकल कलेज व्यवस्थापकलाई पत्राचार गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मध्यस्थता गठन भई समस्या समाधानको लागि प्रक्रिया सुरु भएको अवस्थामा कर्मचारीमाथि दुःख दिने काम भइरहेकोले लर्ड बुद्धका कुनै पनि कर्मचारीमाथि अनुचित श्रम अभ्यास नगर्न लर्ड बुद्धलाई कडा निर्देशन दिएको हो ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले ‘मध्यस्थताको निर्णय नभएसम्मका लागि सुमन गिरी, कृष्ण बहादुर बुढा, विन्दु शर्मा, श्रृष्टी श्रेष्ठ र सुविना खरेलको सरुवा कार्यान्वयन नगर्नु, नगराउनु’ भनी उल्लेख गरेको पत्रमा ‘अन्य श्रमिकहरूको हकमा समेत श्रम ऐन २०७४ को दफा ९२ उपदफा (२) अनुसार जानी जानी दुःख हैरानी नदिन र अनुचित श्रम अभ्यास नगर्न हुन श्रम ऐन २०७४ को दफा १६३ (१) को (च) आदेश विभागको मिति २०८१।११।२० को निर्णय बमोजिम जारी भएको ब्यहोरा समेत जानकारीको लागि अनुरोध गरिएको छ ।
लर्ड बुद्धले कहिले लर्ड बुद्धको बोर्ड हटाएर संजीवनीको बोर्ड टास्ने, त्यहाँ कार्यरत ४ सय कर्मचारीहरूलाई विभिन्न मानसिक यातना दिने, धम्की दिने, आन्दोलन गर्ने कर्मचारीलाई रिस पोख्ने सरुवा गर्ने जस्ता कार्य व्यवस्थापकले गर्दै आइरहेको छ ।