एन्टारटिक बिस्कुट उद्योग हेटौँडामा श्रमको पक्षमा जित, १०२ जना श्रमिकको पुनर्बहाली

हेटौंडा औद्योगिक क्षेत्र स्थित एन्टारटिक बिस्कुट प्रालि व्यवस्थापकले गैह्रकानुनी रूपमा निस्काशित ९६ श्रमिकहरूको नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) र आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन)को सशक्त विरोध पछि श्रमको पक्षमा जित भएको छ ।

लामो समयदेखि नियमित प्रकृतिको काम गर्दै आएका ९६ जना श्रमिकहरूले नियमित कामको रोजगार सम्झौताका लागि व्यक्तिगत माग दाबि गर्दै आएका श्रमिक र उद्योगबिच २०८१ भदौ ५ गते देखि जारी रहेको बिवादबाट ९६ जना श्रमिकहरूलाई माघ २९ गते देखि सेवा समाप्त हुने सूचना सहित गैह्र कानुनी निस्कासन गरेको थियो । 

गैह्र कानुनी निष्काशनको विरोधमा फागुन १ गते देखि उद्योगको गेटमा शान्तिपूर्ण धर्ना दिदै आएका श्रमिकहरूले फागुन ७ गते हजारौं श्रमिकहरूको विशाल र्‍यालीले औद्योगिक क्षेत्र परिक्रमा गरि कम्पनिको गेट परिसरमा विरोध सभा गरेको थियो ।  
उक्त विरोध सभामा नेकपा (एमाले) मकवानपुर जिल्ला जन संगठन संयन्त्रका प्रमुख सन्तोष पौडेलले आन्दोलन प्रति ऐक्यबद्धता जनाउनु भएको थियो । 

त्यसै गरी जिफन्ट बाग्मति प्रदेश अध्यक्ष रामहरि नेपाल, प्रदेश उपाध्यक्ष अर्जुन अर्याल र ह्वीन अध्यक्ष अनन्द थामीले सभालाई सम्बोधन गर्नुहुँदै कानुनको अपव्याख्या गर्ने र गैरकानुनी काम गर्ने कार्य तत्काल बन्द गर्न एवं बिना शर्त सबैलाई पुनर्बहाली गर्न माग गरेको थियो  । 

जिफन्ट र समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन)ले गरेको विशाल सभा सहितको आन्दोलन कै फलस्वरूप फागुन ८ गते श्रम कार्यालयमा भएको वार्ताबाट निस्कासनमा परेका ९६ श्रमिकहरू बिनासर्त नियमित रोजगारी तर्फ बहाली गर्दै थप ६ जना समेतलाई नियमित गर्ने निर्णय गरि कुल १०२ जना श्रमिकहरूलाई स्थायी गराउने सहमति भएको छ ।