नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले पुस १४ गते बाध्यकारी श्रम उन्मुलन र ILO प्रोटोकल २९ सम्बन्धी सांसदहरूसंग जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।
अध्यक्ष विनोद श्रेष्ठले जिफन्टले बाध्यकारी श्रम उन्मुलनकालागी जिफन्टले गर्दै आइरहेको कामहरूको बारेमा चर्चा गर्नु हुँदै यस सँग सम्बन्धित विषयमा चरणबद्ध रूपमा सांसदहरूसंग छलफल गर्दै आइरहेको र गर्दै जाने बताउनु भयो ।

समयको परिवर्तन सँगै श्रम बजार पनि परिवर्तन भएको र श्रम शोषणको रूप पनि परिवर्तन भएको भन्नु हुँदै अध्यक्ष श्रेष्ठले हरेक श्रम क्षेत्रमा श्रमिकको बाध्यतालाई फाइदा उठाइ बाध्यकारी श्रम गर्न बाध्य पार्ने गरेको हुनाले यसलाई उन्मुलन गरी मर्यादित रोजगारी सिर्जना गर्नकालागि जिफन्टले निरन्तर रूपमा विभिन्न रूपमा कामलाइ अगाडी बढाइरहने बताउनु भयो ।
जिफन्ट उपाध्यक्ष विदुर कार्कीले बाध्यकारी श्रम उन्मुलन र ILO प्रोटोकल २९ का सम्बन्धमा र जिफन्टको धारणा प्रस्तुत गर्नु भएको सो कार्यक्रममा नेकपा (एमाले)का माननीय जुली महत्तो, राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय हरि ढकाल, समावेशी आयोगका माननीय हरीदत्त जोशी, माननीय मदुसुदन पौडेल, जिफन्ट बरिष्ठ युनियनकर्मी संजालका अध्यक्ष बिना श्रेष्ठ, अन्टुफका उपाध्यक्ष धन बहादुर विकले बाध्यकारी श्रमको बारेमा आ–आफ्नो बिचार व्यक्त गर्नु भएको थियो ।