मर्यादित रोजगारी र जिउन पुग्ने ज्याला लागुहुनु पर्छः जिफन्ट अध्यक्ष श्रेष्ठ

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) को छैटौँ श्रम संसदको पुस १६ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु हुँदै श्रमको सम्मान गर्दै श्रम र श्रमिक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको विकासको गति अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ ।


कार्यक्रममा नेपाल ट्रेड युनियन महासघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा प्रभावकारी कार्यान्वयन नहुनु दुखदायी रहेको बताउनु भएको छ । 

दिनहुँ नेपाली युवाहरू बिदेसिएकोमा सबैले चिन्ता व्यक्त गरेता पनि किन विदेश गएका हुन् भन्ने बारेमा चासो नदिएको भन्नु हुँदै अध्यक्ष श्रेष्ठले नेपालमा मर्यादित रोजगारी र जिउन पुग्ने ज्याला लागु गर्न सके नेपाली युवाहरू नेपाल मै बसेर काम गर्ने बताउनु हुँदै युवाहरू रोजगारीका लागि होइन, रहरले मात्र विदेश जाने बताउनु भयो ।

नेपाल ट्रेड युनियन महासंघ लगायत नेपालका ठुला ट्रेड युनियनहरूले समय सापेक्ष श्रम ऐन २०७४ संशोधन गर्नु पर्ने माग गर्दै आइ रहेको भन्नु हुँदै ट्रेड युनियन आन्दोलन मर्यादित रोजगारी र जिउन पुग्ने ज्यालाको पक्षमा रहेको र यो वर्ष ज्याला पुनरावलोकनको वर्ष पनि भएको हुनाले  अब न्युनतम ज्याला हैन जिउन पुग्ने ज्यालाको लागि सरकारको ध्यानाकर्षण हुनु पर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनु भयो ।

अध्यक्ष श्रेष्ठले श्रमिकको नाममा गैर ट्रेड युनियनका प्रतिनिधीहरूलाई सरकारले प्रशय दिँदै आएकोमा दुख व्यक्त गर्दै यस्ता गलत निर्णयलाई सरकारले बैलैमा सच्याउन आग्रह पनि गर्नुभयो ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) को हरेक वर्ष नेतृत्व हस्तान्तरण गर्ने परम्परा अन्तरगत आगामी एक वर्षकालागि छैटौँ श्रम संसदले जगत सिम्खडालाई अध्यक्ष पद हस्तान्तरण गरेको छ ।