जलवायु संकटसंग जुध्ने विश्व प्रयत्नमा न्यायिक रुपान्तरणको एजेण्डा र श्रमिकको सार्थक प्रतिनिधित्व र सम्वाद नभएसम्म परिवर्तन नहुने नेपाल ट्रेड युनियन महासंघ जिफण्टका महासचिव लक्ष्मण शर्माले ठोकुवा गर्नुभएको छ।
जलवायु सम्मेलन २०२४ मा नागरिक समाज र परामर्शदाताहरूको कार्तिक २१ गते काठमाण्डौमा भएको राष्ट्रिय छलफल कार्यक्रममा महासचिव शर्माले सो कुरा बताउनु भएको हो ।
महासचिव शर्माले जलवायु परिवर्तनले श्रम क्षेत्रमा परेका असरहरूको बारेमा र न्यायिक रुपान्तरणको बिषय नागरिक समाजहरूले गर्ने छलफलमा छुटाउने गरेको भन्नु हुँदै हरित रोजगारी, सामाजिक सुरक्षाको बिषयमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

नेपालले पाउनु पर्ने जलवायु वित्त न्यायपूर्ण ढंगले प्राप्त गर्ने र त्यसको न्यायिक वितरण गर्न अपनाउनु पर्ने रणनीतिहरुको बारेमा स्पष्ट गर्नु हुँदै महासचिव शर्माले श्रमिकको विषयहरू मर्यादित श्रम र हरित रोजगारी, श्रम बजारको सामाजिक न्याय र न्यायिक रुपान्तरण हुँदैन भने जलवायु न्याय नहुने बताउनु भयो ।
कार्यक्रममा जिफन्ट उपाध्यक्ष सीता लामा र राष्ट्रिय कमिटी सदस्य सुमन पराजुलीले जलवायु परिवर्तनले श्रमिकको रोजगारीमा परेको असरका साथै अजरबैजान हुन लागेको कोप सम्मेलनमा श्रमिक प्रतिनिधिको सहभागिता लगायतका विषयहरू उठाउनु भएको थियो ।