नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले प्रवासी श्रमिकहरूको अधिकारकालागी जिफन्ट सधैँ क्रियाशील रहेको भन्नु हुँदै श्रमिकहरूको समस्या समाधान गर्न नेपालमा सरकारको स्थायित्व नहुनु नै प्रमुख कारण रहेको बताउनु भएको छ ।
बहराइन स्थित नेपाली राजदूतावासले कार्तिक ८ गते, श्रमिक सचेतना, रेमिटेन्स, सुरक्षित वित्तीय कारोबार सम्बन्धमा राजदूतावासमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अध्यक्ष श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
अध्यक्ष श्रेष्ठले प्रवासी श्रमिकहरूको अधिकारकालागी गन्तव्य मुलुकको कानुनले दिएको सीमाभित्रै रहेर श्रमिक अधिकारकालागि जिफन्टले काम गरिरहेको भन्नु हुँदै नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा सबै नेपाली श्रमिकहरूकोलागी भएको हुनाले प्रवासमा रहेका श्रमिकहरूलाई पनि सामाजिक सुरक्षाको धेरामा ल्याउनु पर्नेमा जोड दिनु भयो ।
प्रवासी श्रमिकहरूले पसिना बगाएर आर्जन गरेका रकमलाइ सुरक्षित तवरले आफ्नो मुलुकमा पठाउने वातावरण बनाउनु पर्ने भन्नु हुँदै वित्तीय कारोबार बेकिङ प्रणालीबाट गर्नु पर्नेमा जोड दिनु भयो ।
बहराइनका महामहिम राजदूत तिर्थराज वाग्लेको अध्यक्षतामा माननीय सांसद माधब सापकोटा लगायतका अतिथिहरू उपस्थित सो अन्तरक्रिया कार्यक्रममा जिफन्ट सहयोग समूह बहराइनका अध्यक्ष थोमस कुलुङ र प्रवासी नेपाली मञ्चका अध्यक्ष चन्द्र बहादुर गुरूङले प्रवासी श्रमिकहरूले भोगिरहेको समस्याहरूको बारेमा प्रकास पार्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बहराइनमा क्रियाशील ३२ वटा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागिता रहेको थियो ।