वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने ७ लाख राहत रकम बढाएर १० लाख रुपैयाँ पुर्याइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको बताउनु भएको छ ।
वैदेशिक रोजगारीमा जानुअघि श्रमिकहरुले कल्याणकारी कोषमा जम्मा गरेको रकम नै वैदेशिक रोजगारीमा गएर विभिन्न क्रममा मृत्यु भएका परिवारलाई वैदेशिक रोजगार बोर्डले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको हो ।
बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा राहतसँगै श्रमिकको शव नेपाल झिकाउन र शवलाई घरसम्म पुर्याउन, दाहसंस्कारका लागि परिवारलाई २५ हजार र श्रमिकको दुइवटा छोराछोरीलाई छात्रवृत्ति दिँदै आएको छ ।
वैदेशिक रोजगारीमा जानुअघि मलेशिया जाने श्रमिकहरुले कोषमा १५०० र जापान, कोरिया, लगायतका मुलुकहरुमा जाँदा २५०० रुपैयाँ श्रमिकले कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्छ .
बोर्डले श्रम स्वीकृति लिएको र त्यस अवधिभित्र मृत्यु भएका श्रमिकहरूको हकमा मात्र मृतक परिवारलाई राहत उपलब्ध गराउँदै आएको छ । श्रम स्वीकृति बेगर र म्याद सकिएको अवस्थामा पुगेका श्रमिकहरूको हकमा भने परिवारले क्षतिपूर्ति पाउँदैनन् ।