अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)ले जलवायु परिवर्तनको प्रभावले नेपालका नागरीकले सामाजिक सुरक्षाको चुनौती बढेर आएको जनाएको छ । आइएलओले नेपालले जलवायु परिवर्तनलाई सम्बोधन हुने गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिएको छ ।
‘वातावरणीय कार्य र संक्रमणको लागि विश्वव्यापी सामाजिक सुरक्षा: विश्वव्यापी समाजिक सुरक्षा प्रतिवेदन २०२४–२६ को एसिया–प्रशान्त क्षेत्रीय प्रतिवेदन’ जारी गर्दै आइएलओले सामाजिक सुरक्षाको प्रत्याभूति गर्न नेपाल दक्षिण एसियाको तुलनामा निकै सुस्त गतिले अगाडि बढेको जनाएको छ ।
आइएलओका नेपाल प्रमुख नुमान ओजकनले पर्याप्त सुविधा र पूर्ण सुरक्षालाई समेटी नेपालले तुरुन्तै विश्वव्यापी सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताए । ‘न्यायसंगत, दिगो आर्थिक विकास र हरित भविष्यको लागि नेपालले सामाजिक न्यायमा प्रभावकारी ल्याउन सरकार र नागरिकबिच सामाजिक संवादको नवीकरण गर्न जरुरी छ,’ उनले भने ।
नेपालले केही वर्षदेखि थालेको सामाजिक सुरक्षा केही बढेपनि अपर्याप्त रहेको आइएलओको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले जलवायु परिवर्तनको प्रभावबाट एसिया–प्रशान्त क्षेत्रका नेपाल सहित १६ देश सबैभन्दा बढी जोखिममा रहेको जनाएको छ ।