वाढी पहिरोबाट पीडितहरूको तत्काल राहत तथा उचित व्यवस्थापन गर्न जिफन्टको माग

नेपाल ट्रेड युनियन महासंघले (जिफन्ट)ले वक्तव्य जारी गर्दै यही असोज १० गते रातीदेखि अविरल वर्षा तथा वाढी पहिरोको कारणले देशका विभिन्न भागमा व्यापक धनजनको क्षति र चाडबाडको मुखमा यस्तो प्राकृतिक प्रकोपबाट दैनिक गुजारा गर्ने श्रमजीविवर्गहरुलाई प्रत्यक्ष प्रभाव प्रति सिङ्गो महासंघ परिवार स्तब्ध भएको जनाएको छ । विपत्तिबाट ज्यान गुमाउनु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ ।

वाढी पहिरोबाट पीडितहरूको तत्काल राहत तथा उद्धारको व्यवस्था र सडक अवरूद्धका कारण यात्रुहरुको बिचल्लीमा परेकाहरूको उचित व्यवस्थापन गर्न सम्बन्धित निकाएको ध्यानाकर्षण गराउँदै जिफन्टको सम्पुर्ण संरचना, आबद्ध युनियन र कार्यकर्ताहरूलाई राहत र उद्धारका लागि तत्कालै लाग्न समेत आह्वान गरेको छ । 

साथै जिफन्ट बिपत ब्यवस्थापन र युवा कमिटीले असोज १३ गते बाढीबाट क्षतिग्रस्त सुन्दरीघाट स्थीत सुलक्षण किर्ती बिहारमा हिलो पन्छाउने काम गरेको छ ।

त्यसैगरी जिफन्ट केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकले बाढीबाट क्षतिग्रस्त बनेको नेकपा (एमाले)को कार्यालयलाई व्यवस्थित गर्नका लागि श्रमिक टोलीलाई तयारी अवस्थामा राखेको जानकारी प्राप्त भएको छ ।