दाङ तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षका रुपलाल चौधरी गत भाद्र २२ गते मलेशियाबाट नेपाल फर्किने तयारीमा थिए । साढे चार वर्षपछि घर फर्कन लागेका उनी एयरपोर्टमै मृत्यु भएको हो।
दिउँसो करिब २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगेपछि घरमा पत्नी दिदी, भिनाजु र आफन्तलाई र मलेसियामै रहेका भाइ लोकमणिसँग भिडियो कल र फोन गर्दै आफू फर्कन लागेको जानकारी दिएका थिए ।
नेपाल फर्किने बेलासम्म पनि घरमा खबर नआएपछि परिवारका सदस्य आत्तिए । उनको मोबाइलमा फोन गरिरहे, तर उठेन ।
लामो समयसम्म फोन गरिरहेपछि मलेसियाली नागरिकले फोन उठाएर केही भने, तर कसैले बुझेन । रुपलालका छोरा विपिनले मलेसियामा नै रहेका काका लोकमणिलाई बुझ्न लगाए। लोकमणिले बुझ्दा रुपलालको एयरपोर्टमै मृत्यु भएको खुलेको हो ।