योगदानमा आधारित सामाजिक सुरक्षाले सबै श्रमक्षेत्र अनिवार्य समेट्नुपर्छ: महासचिव लक्ष्मण शर्मा

नेपालमा श्रम ऐन र सामाजिक सुरक्षा ऐनले व्यवस्था गरेको योगदानमा आधारित सामाजिक सुरक्षामा सबै राइडर, डेलिभरी श्रमिक र डिजिटल पेशाकर्मीहरु अनिवार्य रुपमा समेट्नुपर्ने कुरा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महासचिव लक्ष्मण शर्माले बताउनुभएको छ। 

उक्त कुरा वहाँले भाद्र २६ गते काठमाडौंमा आयोजित एसियामा प्लेटफर्म श्रमिकहरूको सामाजिक सुरक्षाको प्राप्ती विषयक कार्यशालामा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै बताउनु भएको हो। 

महासचिव शर्माले आफ्ना सबै श्रमिकहरू सामाजिक सुरक्षामा समेट्ने फूडमाण्डुको उदाहरण दिँदै अरु प्लेटफर्म सञ्चालकहरुले पनि आफ्ना हजारौँ श्रमिकहरूलाई मर्यादित काम, सामाजिक सुरक्षा, सम्मान र संवादको लागि तयार रहन आग्रह गर्नुभयो। 

पठाओ, इन्ड्राइव र अन्य सामान डेलिभरी गर्ने कम्पनीहरूले पनि राइडरहरुलाई स्वरोजगार वा अनौपचारिक भनेर योगदानमा आधारित सामाजिक सुरक्षाबाट विमुख गर्न नमिल्ने उहाँले दाबी गर्नुभयो। बेल्जियन ट्रेड युनियन सपोर्ट संस्था डब्लुएसएमको संयोजनमा आयोजित यो सम्मेलनमा कम्बोडिया बंगलादेश नेपाल इन्डोनेसिया फिलिपिन्स लगायतका मुलुकबाट श्रमिक, नागरिक समाज र आइएलओका प्रतिनिधिहरूको सहभागिता रहेकोछ ।